दाङका ७ वटा वडालाई जडिबुटीको पकेट बनाईने
दाङ । दाङका पहाडी क्षेत्रलाई जडिबुटीको पकेट क्षेत्रकारुपमा विकास गर्न थालिएको छ । डिभिजन वन कार्यालय घोराही दाङले घोराही उपमहानगरपालिकाको वडा नम्बर १८ र १९ तथा बंगलाचुली गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटीको पकेट क्षेत्रमारुपमा विकास गर्न थालेको हो । स्थानीयको बैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गईरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तु बिचको द्धन्द्धलाई घटाई व्यवसायीकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्य जडिबुटी क्षेत्र घोषणा गरि काम थालिएको डिभिजन वन कार्यालय दाङ्गले जनाएको छ ।
ति ७ वटा वडामा यस बर्ष सहकारी मार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्बाेत्तम बहुउद्देशिय सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० वटा बिरुवा रोपण गरेको छ । २०७५ सालमा पकेट क्षेत्र घोषणा गरि जडिबुटीको व्यवसायी खेती गर्ने अभियान थालेको हो । सहकारी मार्फत यस बर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका बिषयमा आज छलफल समेत गरिएको छ ।
स्थानीय किसानमा व्यवसायीता ल्याउन यो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराईएको हो । यसबर्ष ७१ हजार ३० र गत बर्ष ७५ हजार बढी जडिबुटीका बिरुवाहरु रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।