दाङको मुसोट पुलमा टिपर दुर्घटना हुँदा सडक अवरुद्ध
दाङ । घोराही–लमही सडकखण्ड अवरुद्ध भएको तीन घण्टा पुगेको छ । तर, अझै सडक सुचारु भएको छैन । घोराही उपमहानगरपालिका ३ मुसोट खोला पुलमा टिपर दुर्घटना हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेको हो । टिपर हटाउन क्रेन आउन नसक्दा बाटो अवरुद्ध भएको हो ।
सवारीसाधन र यात्रुबीच बाटोमा अलपत्र परेका छन् । अवरुद्ध सडक सुचारु गर्ने तयारी भएपनि सवारीसाधनको जाम धेरै भएकाले क्रेन पुग्न नसकेको हो । अहिले अवरुद्ध सडक खुलाउन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु मुसोट पुगेका छन् । ‘जाम भएर मुसोटसम्म गाडी जाने अवस्था छैन । मोटरसाइकल चढेर मुसोट आइपुगेको छु,’ प्रजिअ रामबहादुर कुरुम्बाङले भने, ‘अबको एक÷आधा घण्टामा सुचारु गर्न सकिन्छ की ।’
चुनढुंगा बोकेको प्रदेश २–०३००१ ख ४१५८ नम्बरको टिपर घोराहीबाट लमही आउँदै गर्दा पुलको डिभाइडरमा ठोक्किन पुग्दा दुर्घटना भएको हो । मुसोटको पुल सिंगल लेनको छ । एक पटकमा एउटा सवारीसाधन मात्रै पार हुन्छ । दोहोरो सवारी पास हुँदैन । एउटा गाडी पुल पार गर्दा अर्काे गाडी एक छेउमा रोकिनुपर्छ ।
शनिबार टिपर अनियन्त्रित भएर पुलको एउटा किनारमा भएको डिभाइडरमा ठोक्किन पुग्यो । ओरालो बाटो, लोड बोकेको टिपर, ब्रेक लगाउँदासमेत राम्रोसँग लागेन । चालकले डिभाइडर माथि टिपर चढाउनु प¥यो । पुलमाथि टिपर तेर्सियो। सवारी जामले गर्दा यात्रुले हैरानी भोगेका छन् ।