दाङमा फोहर व्यवस्थापन गर्ने सकस

दाङ । दाङका बजार क्षेत्रबाट संकलन हुने फोहर व्यवस्थापनको सकस देखिएको छ । दिनप्रदिन बढ्दै गएको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्न नसक्दा फोहर व्यवस्थापनमा समस्या देखिएको हो । जसले गर्दा अहिले नगरपालिकाले बजार क्षेत्रबाट संकलन भएको फोहर लमही नगरपालिका ५ मा रहेको अजम्मरी सामुदायिक बनमा बनाइएको डम्पिङ साइडमा फाल्ने गरिएको छ ।

नगरमा जनप्रतिनिधि आएको पहिलो बर्ष गल्ने फोहरलाई कम्पोष्ट मल बनाउने तथा नगल्ने फोहरलाई फेरि प्रयोग गर्ने गरी योजना बनाइए पनि चार बर्षसम्म पनि काम हुन सकेको छैन । फोहर व्यवस्थापनको योजना अनुसारको काम हुन नसक्दा निर्णय भएको चार बर्षसम्म पनि फोहर व्यवस्थापनको काम हुन नसकेको लमही नगरपालिका वातावरण तथा सरसफाई शाखाकी प्रमुख गायत्री थापाले बताइन् । ‘बजार क्षेत्रबाट संकलन हुने फोहर दीर्घकालीनरुपमा समाधानका लागि काम हुन नसक्दा तीन बर्षसम्म केही काम हुन सकेन’, शाखा प्रमुख थापाले भनिन्– ‘जसले गर्दा अहिले पनि नगरपालिकाले फोहरलाई संकलन गरी डम्पिङ साइडमा फाल्ने काम मात्र गरिएको छ ।’

आर्थिक वर्ष २०७७÷०७८ को पहिलो महिना गल्ने र नगल्ने फोहरलाई छुट्टयाएर डम्प गर्ने योजनाअनुसार अभ्यास गरिएको थियो । करिब एक महिना गल्ने र नगल्ने फोहरलाई छुट्याएर उठाउने काम गरियो । तर पछि बजार क्षेत्रका बासिन्दाले गल्ने र नगल्ने फोहरलाई छुट्याएर दिन सकेनन् । जसले गर्दा यो काम पनि सफल हुन नसकेको स्वास्थ्य शाखा प्रमुख थापाले बताइन् । ‘जनप्रतिनिधि आएको चार बर्षमा फोहरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिँदा पालिका फोहर व्यवस्थापनमा असफल देखियो । राम्रोसँग काम गरेको भए दीर्घकालीनरुपमा समस्या समाधान गर्न सकिन्थ्यो’, उनले भनिन्– ‘चार बर्ष फोहर व्यवस्थापनका हिसावले सफल हुन सकिएन ।’ उनका अनुसार अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ । जसले गर्दा बन क्षेत्रमा कामका लागि जानेहरुलाई दुर्गन्धले सताउने गरेको छ ।

जंगलमा जथाभावी फोहर फाल्नाले जंगलमा समेत दुर्गन्ध फैलने गरेको स्थानीय बताउँछन् । स्थानीयवासी गाई–भैसीका लागि घाँस काट्न तथा अन्य कामका लागि जंगल जाँदा दुर्गन्धले सताउने गरेको छ । फोहर व्यवस्थापनको लागि सचेत हुन आवश्यक भएको भन्दै नगरपालिकाले पालिकाका एक सय ३ टोल विकास संस्थाका पदाधिकारीलाई तालिम दिएको थियो ।

फोहर व्यवस्थापनका लागि नगरपालिकाले यस आर्थिक बर्ष ७५ लाख रुपैयाँ बिनियोजन गरिएको स्वास्थ्य शाखा प्रमुख थापाले बताइन् । उनले दीर्घकालीन रुपमा समाधानका लागि पहल नहुँदा डम्पिङ साइडमा दुर्गन्ध भए पनि बजारमा भने नगरपालिकाले फोहर हुन नदिएको उनले बताइन् । उनले बजार क्षेत्रमा फोहर हुन नदिनका लागि पछिल्लो समयमा नियमितरुपमा सफा गर्ने काम गरिएको बताइन् । लमही नगरपालिकालाई मात्र नभएर जिल्लाका अन्य पालिकाहरुलाई समेत फोहर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस