चैतभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्य मन्त्रालय
![](https://sajhatimes.com/wp-content/uploads/2021/04/health.jpg)
काठमाडौं । सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराए ।
प्रवक्ता पौडेलले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको पनि जानकारी दिए । कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्तभित्र उपलब्ध हुने र भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार आड सय ५० डोज खोप प्राप्त भइसकेको छ ।
![](https://sajhatimes.com/wp-content/uploads/2021/07/release_1_rR8jz7nC68-790x1024.jpg)