दाङको घोराही तीन गाउँमा अझै विद्युत पुग्न सकेन्
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १९ का तीनवटा गाउँमा अहिलेसम्म बिजुली बत्ती नपुग्दा मोबाइल चार्ज गर्न एक घण्टासम्म हिँडेर अर्काे गाउँमा जानुपर्ने बाध्यता रहेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ का श्रीचौर, भलारा र छाप गाउँमा बिजुली बत्ती पुगेको छैन । तीनवटा गाउँमा करिब एक सय ५० घरधुरीको बसोबास रहेको छ ।
मोबाइल चार्ज गर्न नजिकको गाउँबाट आधा घण्टा र टाढाको गाउँबाट एक घण्टासम्म पैदल हिँडेर छोडनेटा बजारमा जानुपर्ने बाध्यता रहेको श्रीचौरका स्थानीय नरबहादुर घर्तीले बताए । घोराही–होलेरी सहिद मार्ग अन्तर्गत पर्ने छोडनेटा बजारका ९ घरमा गएको वर्ष बिजुलीको लाइन जोडिएको हो । गाउँतिर लाइन जाने त सुरसार नै नभएको ताराबहादुर विकले बताए ।
उपमहानगरपालिकाको बासिन्दा भए पनि गाउँमा बिजुलीको लाइन नपुग्दा टेलिभिजन चलाउने, बत्ती बाल्ने जस्ता कुरा सपना जस्तै भएको स्थानीयको गुनासो छ । तीन गाउँका मानिसहरु आफैँ पालो मिलाएर मोबाइल चार्ज गर्न आउने गरेको च्यानगैरा बजारकी बिमला घर्तीले बताइन् ।