चीनले नेपाललाई १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । नेपालका लागि चिनिया राजदूत होउ याङ्छीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छिन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे । उनले चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।

भेटको क्रममा चिनिया राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनिया नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरिन् । चिनिया जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाईँमा आफूहरु नेपालको साथमा रहँदै आएको बताइन् । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस