‘समृद्ध तुलसीपुर’ पुस्तकको बिमोचन

दाङ । समृद्ध तुलसीपुर नामक पुस्तकको बिमोचन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले चार वर्षमा गरेका गौरबपूर्ण उपलब्धीहरुको संगालो समृद्ध तुलसीपुर पुस्तकको बिहीबार विमोचन गरिएको हो । नगरप्रमुख घनश्याम पाण्डेले पुस्तकको बिमोचन गरेका हुन् । उनले तुलसीपुर उपमहानगरपालिकालाई समृद्ध बनाउन उपमहानगरपालिकाले चार वर्षमा गरेका गौरबपूर्ण कामलाई दस्तावेजका रुपमा प्रस्तुत गरेको बताए ।
तुलसीपुरमा भएका स्रोत साधनको उचित प्रयोग गरी उपमहानगरपालिकालाई समृद्ध नगरको रुपमा लैजाने योजना अघि बढीरहेको उनले बताए । मेट्रो कलेज, मेट्रो अस्पताल, आधुनिक बसपार्क, नमुना अटो भिलेज, तुलसीपुर तरकारी तथा फलफूल बजार केन्द्रलगायतका योजनाले तुलसीपुरलाई समृद्ध बनाउने उनको भने ।
नगरका उपप्रमुख माया आचार्यको अध्यक्षमा पुस्तक बिमोचन कार्यक्रम भएको हो । पुस्तकमा स्मार्ट सहर तुलसीपुरदेखि स्मार्ट छोरी कार्यक्रमलाई समेटीएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र महिला अधिकारकर्मी शुष्मा गिरीले पुस्तकको समिक्षा गरेका थिए । कार्यक्रममा प्रेस काउन्सली नेपालका लुम्बिनी प्रदेश सदस्य शरद अधिकारीले आगामी पुस्तालाई तुलसीपुरको विकासको लागि पुस्तक मार्गदर्शक बन्ने बताए ।
कार्यक्रममा नेकपा एमाले वली समुहका बिनोद शर्मा, नेकपा एमाले माधव नेपाल समुहका कृष्ण भुषाल, नेपाली कांग्रेसका जगत खड्का, माओवादी केन्द्रका शेषुराम भण्डारी, जनता समाजवादी पार्टीका जीवन भण्डारी, राष्ट्रिय जनमोर्चाका शुक्रराज भण्डारीलगायतले तुलसीपुरको विकासका लागि सदैब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । दाङ संचार प्रालिको प्राविधिक सहयोगमा पुस्तक तयार पारिएको हो ।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको स्वागत मन्तव्यबाट शुरु भएको पुस्तक बिमोचन कार्यक्रमको सहजीकरण नगरका प्रवक्ता सूर्यबहादुर डाँगीले गरेका थिए ।