दाङको राप्ती स्वास्थ्य प्रतिष्ठानले अक्सिजन उत्पादन सुरु

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन गर्न थालेको छ । कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । राप्ती स्वास्थ्य प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. संगीता भण्डारीले जानकारी दिइन् ।
कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आवश्यक पर्ने भएका कारण प्रतिष्ठानले प्लान्ट निर्माण गरेको जनाएको छ । कोरोनाका धेरैजसो गम्भीर बिरामीलाई अक्सिजन आवश्यक पर्ने हुँदा पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानकी उपकुलपति प्रा. डा. भण्डारीले जानकारी दिइन् ।
यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्राली झिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको र उत्पादन क्षमता बढाउन लागिएको जनाएको छ ।