रोट्रयाक्ट क्लव अफ तुलसीपुरको अध्यक्षमा बस्नेत चयन

दाङ । रोट्रयाक्ट क्लव अफ तुलसीपुरको अध्यक्षमा हेमराज बस्नेत चयन भएका छन् । बस्नेत वर्ष २०२१/२२ का लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् । शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यमामा नवनिर्वाचित अध्यक्ष बस्नेत सहितका पदाधिकारीहरूको पदस्थापन गरिएको थियो ।

त्यस्तै क्लवको वर्ष २०२१/२२ का लागि ईलेक्ट प्रेसिडेन्टमा नारायण गौतम, उपाध्यक्षमा रञ्जन सिंह, सुरेन्द्र भण्डारी, प्रवेश श्रेष्ठ, सुरजजंग रायमाझी र महासचिवमा अनुप भण्डारी चयन भएका छन् । क्लबका निवर्तमान अध्यक्ष प्रमिश लामिछानेको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजिअ कुरुम्बाङले समाजको सहयोग विना सरकारले मात्र केही गर्न नसक्ने भन्दै हरेक क्षेत्रमा सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले विपद्को समयमा समाजका विभिन्न संघसंस्थाहरूले सहयोग गरेको भन्दै अब पनि सबैले सहयोग गर्नुपर्ने बताए । उनले दोस्रो चरणको कोरोना महामारी नियन्त्रणमा आएको भएता पनि फेरी तेस्रो लहर आउन सक्ने भएकाले सबैले साथ र सहयोग गर्नुपर्ने समेत बताए । उनले जिल्लामा केही दिन अगाडि लगाएको कोरोना खोप व्यवस्थापनमा केही कमजोरी भएको भन्दै अबका दिनहरूमा त्यस्तो नहुने समेत बताए । त्यस्तै उनले जिल्लामा अलपत्र रहेको चारलेन बाटको लागि आफुसको पहिलो प्राथामिकता रहेको भन्दै त्यसका लागि आफू लागि रहेको समेत बताए ।
त्यस्तै कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष प्रमिश लामिछानेले आफ्नो एक वर्षीय कार्यकाल धेरै काम गरेको बताए । उनले कोरोना महामारीका कारणले सोच जस्तो काम गर्न नसकेको समेत बताए त्यस्तै नवनियुक्त अध्यक्ष बस्नेतले आफ्नो नेतृत्वमा गठित कार्यसमितिले संस्थाको गरिमा लाई बचाउँदै उदाहरणीय काम गर्ने बताए । उनले युवाहरूको नेतृत्व विकास सँगसँगै अन्य रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैबीच सो अवसरमा रिपोर्टस् क्लब अफ दाङका अध्यक्ष शरद रेग्मी ,रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष शिव श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, रोटरी क्लबका एजी कुशल तर्ताललगायतकाले बधाई मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी क्लबले जिल्लामा कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएका तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसी र कोरोना विशेष अस्पताल बेलझुण्डीका दोर्णबहादुर वलीलाई सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन निवर्तमान सचिव नारायण गौतम र वर्तमान सचिव अनुप भण्डारीले गरेका थिए ।

