कोरोनाको तेस्रो लहरः अक्सिजन प्लान्टकै प्राथमिकता

दाङ । कोरोनाको दोस्रो लहर मत्थर सँगै खोप अभियानसमेत चलिरहंदा प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङ भने अक्सिजन प्लान्टकै समस्या हुन सक्ने भन्दै सकेसम्म अक्सिजन प्लान्ट निर्माणमा जुट्न सरोकारवाला सवैलाइ आग्रह गरीरहेका छन् । क्रमश बजारमा गतिविधिहरु वाक्लो हुँदै गर्दा फेरी कोरोना भाइरसको संक्रमणको तेस्रो लहर आउन सक्ने विज्ञहरुको अनुमानसंगै प्रमुख जिल्ला अधिकारी अक्सिजन प्लान्ट निर्माणलाइ प्रार्थमिकतामा राख्ने अभियानमै छन् ।

‘कोरोना भाइरसको तेस्रो संक्रमण फैलियो भने, यहाँ भएका दश÷वीस वटा सिलिण्डरले प्रयाप्त हुन सक्ने छैन, तत्काल अक्सिजन प्लान्टको निर्माणमा जुट्नु उपयुक्त हुनेछ’—तुलसीपुर मेट्रो अस्पतालको अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङले भने । उनले यसअघि नेपालगञ्जलगायत पश्चिम नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजनको समस्या भोगेको उल्लेखगर्दै अवको लहरमा प्राणवायुको अभाव हुन नदिन सबै पालिकाहरु गम्भीर हुनुपर्ने तर्क गरेका छन् । अवलोकन कार्यक्रमका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख माया आचार्यले अक्सिजन प्लान्टको निर्माणमा उपमहानगरपालिका पनि गम्भीर रहेको भन्दै अब पहिले जस्तो अक्सिजनको सकस नहुने बताइन् ।

मेट्रो अस्पतालमा हाल पनि १० जना कोरोना संक्रमित बिरामीहरुको उपचार भैरहेको छ । आइसियु र एचडियु वेड समेतको सुविधा भएको सो अस्पतालमा तुलसीपुर उपमहानगरपालिकाले ३ जना कन्सल्टेन्ट फिजिसियन, २ जना मेडिकल अधिकृत, ८ जना स्थाफनर्स, एचए, सिएमए, र कार्यालय सहयोगी गरी ४२ जना कर्मचारीको समेत व्यवस्थापन गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस