दाङमा निषेधाज्ञा अनिश्चितका लागि जारी, बजार बेलुका ८ बजेसम्म खुल्ने

दाङ । दाङमा केही परिवर्तन गर्दै निषेधाज्ञाको समय अनिश्चितका लागि जारी गरिएको छ । आजबाट थप गरिएको निषेधाज्ञामा पसलहरु खोल्ने समय लम्बाइएको छ ।

यसअघि विहान ६ देखि साँझ ६ बजेसम्म खुल्दै आएका पसलहरु अब भने साँझको ८ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । उनका अनुसार सार्वजनिक तथा निजी सवारी सधान पनि विहान ६ बजेदेखि साँझको ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । यस अघि साँझको ६ बजेसम्म सवारी सधान सञ्चालन हुँदै आएका थिए ।

होटेल, रेष्टुरेन्ट पनि साँझ ८ बजेसम्म खोल्न पाइने छ तर तयारी खानाहरु सेवाग्राहीले लगरे जानु पर्ने छ । यसअघि जारी गरिएको निषेधाज्ञाको समय आज साँझ ६ बजे सकिदै थियो । अब अर्काे सूचना जारी नभएसम्म कुनै पनि प्रकारको भिडभाड हुने गतिविधि गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार अब सभा सम्मेलन, गोष्ठी, तालिम, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, संग्राहलय, पुस्तकालय खोल्न पाइने छैन ।

त्यस्तै शैक्षिक संस्थाहरु, ट्युसन सेन्टरहरु खोल्न पाइने छैन भने कुनै पनि महोत्सव, सभा, जुलुस गर्न पाइने छैन ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस