दाङमा रोल्पा र सम्राट सिमेन्टका ट्रिपर प्रहरीको नियन्त्रणमा

दाङ । क्षमताभन्दा बढी भार बोकेको भन्दै प्रहरीले दाङको तुलसीपुरमा रोल्पा र सम्राट सिमेन्टका २६ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ । रोल्पाको बुढागाउँबाट चुनढुङगा लिएर सम्राट सिमेन्ट र रोल्पा सिमेन्टको अमिलिया डिपोमा जाँदै गरेका ट्रिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । ट्रिपरको लाइन वीरेन्द्र चोकदेखि गोदामघरसम्म पुगेको छ । ओभर लोड, तिब्रगति र दुर्घटनाका बढी भएका कारण नियन्त्रणमा लिएको एसपी काफ्लेले बताए ।

“ढालाभन्दा माथिसम्म ढुङ्गा बोकेर ट्रिपर सडकमा दौडाइरहेको हुन्छ । त्यो ढुङ्गा खसेर मान्छेलाई लाग्यो भने मान्छे नै बाँच्दैन । सडकमा खाल्डाखुल्डी पनि यसैले बनाएको छ । दुर्घटना ट्रिपरकै छन्,” एसपी काफ्लेले टेलिफोनमा भने– “कतै मान्छे मारेर लुक्यो भने पनि प्रहरीलाई आपत हुन्छ । कहाँ जाने खोज्न । नम्बर प्लेट पनि राम्रगरी बुझीदैन । पूर्व झापाको ट्रिपर पनि यही छ । होङ्सी सिमेन्टको पनि यही छ । यसको रेन्सपोन्सविलिटी कसले लिने ।”

क्षेमताभन्दा बढी भार नबोक्ने बिषयमा छलफल गर्न दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय घोराहीमा बैठकसमेत बोलाइएको छ । छलफलमा नम्बर प्लेट स्पष्ट देखिनेगरी लेख्नु पर्ने, ढालाभन्दा माथिको भाग काट्नुपर्ने, क्षेमता भन्दा बढी बोक्न नपाईने, बजार क्षेत्रमा गतिलाई कम गर्ने लगायतका विषयमा ट्रिपर व्यवसायीसँग छलफल हुने छ । यता प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले ट्रिपरको वेथिथी बढेकाले नियन्त्रण गर्न लागेको बताए ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस