लागुऔषधको कारोबार गर्ने मेडिकल सञ्चालकसहित दाङमा तीन पक्राउ

दाङ । दाङ प्रहरीले लागुऔषध कारोवार गरीरहेको आरोपमा तुलसीपुरका एक मेडिकल संचालकसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एंव डिएसपी मुकुन्द रिजालका अनुसार तुलसीपुर ६ हात्तिखौवाचोक स्थित अनमोल आयुर्वेदिक मेडिकलका संचालक रुपेश शर्मा, तुलसीपुर ६ बरुवागाउँ बस्ने सरोजकुमार भारती र वडा नम्वर ५ बस्ने सोनाम योगीलाई आईतवार पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु मध्ये मेडिकल संचालक शर्माले लागु औषध मनोदिप औषधी NITRAVET-10 विक्रि वितरण गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले NITRAVET-10 लेखेको ११३ वटा ट्यावलेटसहित नगद १६ हजार रुपैया बरामद गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो ।शर्मालाई आईतवार बेलुकी साढे सात बजे पक्राउ गरिएको हो ।

यस्तैगरी अन्य दुई जनालाई तुलसीपुर ५ प्रगतिशिल टोल स्थित लागुऔषध ब्राउन सुगर खरिद गरी हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले आईतवार दिउँसो तिन बजे पक्राउ गरेको उनले बताए । उनीहरुको साथबाट १९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरिएको छ । उनीहरुलाई विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले छुट्टाछुटु्टै ठाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस