विभेद् विरुद्ध आयोग योजनाका साथ अघि बढ्दैछः विश्वकर्मा

दाङ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातिय विभेद् विरुद्धको अब नयाँ ढंगबाट अघि बढ्ने बताए । राष्ट्रिय दलित पत्रकार संघ दाङको आयोजनामा शनिबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । यसका लागि दशबर्षे र पञ्च बर्षीय योजना बनाएर अघि आयोग अघि बढेको उनले बताए ।

पछिल्लो समय देशका विभिन्न स्थानमा दलित समुदाय माथि भएका घटनाले थप गम्भीर बनाएको भन्दै गैर दलितको सहभागीतामा अभियान अघि बढाउने बताए । आयोगले विभिन्न संयन्त्रहरु संग समन्वय र सहकार्य गरी जातिय विभेद् विरुद्धका जनचेतनामुलक अभियान संचालन गर्ने बताए । विभेद् अन्त्यका लागि कक्षा ८ देखि स्नातकतहसम्मका विद्यार्थीहरुलाई स्वंयमसेवकका रुपमा परिचालन गर्ने योजना बनाएको पनि उनले बताए ।

उनले काठमाडौमा संचारकर्मी रुपा सुनारले जस्तै जातिय विभेद् विरुद्ध लड्न सक्ने आट र साहस गर्नुपर्ने उनले बताए । सामाजिक अपमान र अन्यायका विरुद्ध बोल्न र लड्न रुपा सुनार जस्तै नयाँ युवा शक्तिहरु अग्रसर हुनुपर्ने उनले बताए । साथै विद्यालय स्तरमा पाठ्यक्रम निर्माणमा पनि आफूहरु सक्रिय भएको बताए । अर्को प्रसङ्गमा पशुपति क्षेत्रमा दलितलाई समेत पुजा गर्ने व्यबस्था गर्ने र त्यसबाट धार्मिक रुपले विभेद् अन्त्य हुने भन्दै त्यसका लागि पशुपति विकास कोषसंग छलफल भइरहेको उनले बताए ।

संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ दाङका कोषाध्यक्ष शरद रेग्मीले पनि बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिब अर्जुन परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस