जिम्मेवारी अनुसार काम पूरा गर्ने प्रहरी उपरीक्षक काफ्लेको प्रतिवद्धता

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जिल्लाको शान्ति सुरक्षा, अमनचयन र स्थायित्वका लागि आफ्नो संगठनले दिएको जिम्मेवारी अनुसार काम पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लाका क्रियाशील पत्रकारहरुसँग रायसुझाव तथा परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख काफ्लेले आफु नागरिकको जीउ ज्यानको सुरक्षा, अपराध नियन्त्रण र शान्ति कायम गर्न जिम्मेवारीमा खटिएको बताए । प्रहरी संगठनलाई कसरी संचारमैत्री र नागरिकमैत्री बनाउन सकिन्छ भन्ने उद्देश्यले हालसम्म जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट गरिएका कार्य सम्पादन चुस्तदुरुस्त र विश्वसनीय बनाउन जिल्लाका संचारकर्मीहरुसँग सुझाव मागेको प्रष्ट पारे ।
केही दिनअघि मात्रै प्रहरी प्रमुखको रुपमा जिल्लामा सरुवा भई आएका प्रहरी उपरीक्षक काफ्लेले काम गर्ने शैली फरक भएपनि प्रहरी संगठनको ऐन नियममा रही आफुले निर्भिकताका साथ आफुले काम गरेर देखाउने दावी गरे ।
यसैगरी प्रहरी उपरीक्षक काफ्लेले प्रहरीमा कोही कसैलाई न्यायका लागि उजुरी दिँदा कुनै शुल्क नलाग्ने प्रष्ट पारे । यसअघि निवेदन दिँदा विभिन्न खालमा समस्या हुने गरेको गुनासो बढेपछि उनले शुन्य शुल्कमा टिकटसमेत टाँस नगरेर सहज रुपमा निवेदन दिई नागरिकले सहज रुपमा सेवा पाउने बताए ।
सो अवसरमा नदीजन्य बस्तुको अवैध उत्खनन्मा प्रहरीको निगरानी नपुगेको, विगतमा भएका आपराधिक घटनाका हत्यारा पत्ता लगाउन बिलम्ब भएको, विभिन्न पक्षको दवावमा अपराधीलाई कारवाही बिना छाड्ने गरेको विषयमा स्मरण गराउँदै सबै नागरिकले प्रहरीको मुस्कानसहितको सेवा चाहेको पत्रकारहरुको आग्रह थियो ।