दाङमा जारी लकडाउन असार २२ गतेसम्म, सार्वजनिक यातायात खुल्यो

दाङ । दाङमा जारी लकडाउन केही परिर्वतन गरेर असार २२ गतेसम्म थप गरिएको छ। मगलबार बसेको जिल्ला कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण घट्दै गएको भएपनि जोखिम कायमै रहेको भन्दै जारी लकडाउन असार २२ गतेसम्म थप गरेको हो ।

लकडाउन थप गरेपनि जिल्ला भित्र सञ्चालन गर्न पाउने गरी सार्वजनिक यातायात भने खुल्ने भएका छन् । दाङ जिल्ला प्रशासन कार्यालय दाङको अनुसार सार्वजनिक यातायात विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

यस्तै बजार व्यवसाय पनि विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने भएका छन् । यसअघि विहान ६ बजेदेखि दिउँसोको ३ बजेसम्म खुल्दै आएका थिए । सरकारी कार्यालय तथा बैंक वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा खुल्न पाउने निर्णय भएको दाङ प्रमुख जिल्ला अधिकारि रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

तर भिडभाड हुने सिनेमा हल, विद्यालय, कलेज, जिम क्लव, सैलुनहरु भने खुल्न पाउने छैनन् । त्यस्तै लामो दुरीका सार्वजनिक सवारी साधन पनि चल्न नपाउने कुरुम्बाङ्गले बताए ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस