स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना धरौटीमा छुटे

बाँके । बाँकेको नेपालगन्ज भेरी अस्पतालमा केही दिनअघि डाक्टर र नर्समाथि आक्रमण गर्ने तीनै जना आइतबार रिहा भएका छन् । उनीहरू तीनै जना जनही ५०/५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०÷५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । गत जेठ १३ गते राति ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका ५४ वर्षीय डिल्ली रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए । उनीहरू मृतकका सहोदर भाइ र छोरा हुन् । उनीहरू तीनै जनालाई सोही दिन राति पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो । उनीहरू २४ दिन प्रहरी हिरासतमा बसेर रिहा भएका हुन् ।

चिकित्सकहरूको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप उनीहरूले लगाउँदै आएका थिए । अन्धाधुन्ध आक्रमण गर्न थालेपछि ज्यान जोगाउन डा चन्द्रप्रकाश साहु, नर्सहरू सदीक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस