टापुमा ४ जना फसेका लाई यसरी गरियो उद्धार

दाङ । लमही नगरपालिका वडा नं. ७ हस्नापुर निवासी मन्साराम चौधरी मंगलबार दिउँसो भैँसी चराउन राप्ती नदीको टापुमा पुगेका उनी त्यहाँ पुग्दा नदीमा ठूलो बाढी आएको थिएन । उनलाई बाढीले छेक्ला भन्ने सोचै भएन । लगातार पानी परिरह्यो । राप्ती नदीमा पानीको सतह बढेपछि मन्साराम टापुमै छेकिए । उनीसँगै अन्य तीन जना पनि भैँसी चराउन त्यही टापुमा पुगेका थिए । बाढी आएपछि उनीहरु थुनिए । प्रहरीलाई खबर गयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली राती नै खटियो ।

एक बजेसम्म उद्धारको प्रयास गरियो तर, सम्भव भएन । बुधवार बिहानबाट थालिएको उद्धार कार्य सफल भयो । ‘रबर बोटसहित तालिमप्राप्त टोली उद्धारमा खटिय । टापुमा पुगेर सकुशल उद्धार गरेर ल्यायौँ’, इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले भने, ‘भैँसीको मायाले गर्दा एक जना सुरुमा आउन मन गर्नु भएको थिएन । तर, उहाँलाई पनि सम्झाई बुझाई गरेर उद्धार गरेर सुरक्षित स्थानमा सार्न सफल भयौँ ।’

भैँसी चराउन मन्साराम सधैँ त्यही ठाउँमा पुग्थे । मंगलबार पनि उनी त्यही गएँ। साँझ घर फर्किनेगरी गएका उनी १२ घण्टा बढी टापुमा थुनिँदा भोक भोकै र प्यास प्यासै बस्नुप¥यो । ‘पानी खान पाइएन । भोक पनि लागेको छ’, उनले भने, ‘घर कतिखेर पुगिन्छ भन्ने सोचाई आईरह्यो ।’

टोलीले लमही नगरपालिका ७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका २ निवासी ४५ वर्षीया सावित्रा, सोही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका ३ प्रतापपुर निवासी २६ वर्षीय गणेश यादवको झण्डै १२ घण्टापछि सकुशल उद्दार गरेको हो ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस