पहिरोले राप्ती राजमार्ग अन्तरगत दाङ–सल्यान सडक खण्ड अवरुद्ध

दाङ । अविरल वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ– सल्यान सडकखण्ड अन्र्तगतको राप्ती राजमार्ग मंगलबार साँझदेखि अवरुद्ध भएको हो ।

कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनको भनाई छ । सडक बन्द हुँदा ६० भन्दा बढी मालबाहक गाडी जाममा परेका छन् । बिहानदेखि जेसिभि लगाएर पहिरो पन्छाउने काम भइरहेको श्रेष्ठको भनाई छ । सडक अवरुद्ध हुँदा दाङ्ग, सल्यान, रुकुम पुर्व, रुकुम पश्चिमको आवागन बन्द भएको छ ।

यसैबीच पहिरोले घर पूर्ण रुपमा जोखिममा परेपछि कपुरकोट ३ बस्वारीमा एक घर परिवारलाई प्रहरीले सुरक्षित स्थानमा राखेको छ । अविरल वर्षाका कारण शोविर डाँगीको घर पूर्ण रुपमा जोखिममा परेपछि ५ जनाको परिवारलाई छिमेकीको घरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै छत्रेश्वरी गाउँपालिका ४ लंकिनी खोलामा आएको बाढीले खेत बगरमा परिणत भएको छ । बाढीले २० घरको ६० रोपनी खेत बगाएको स्थानीयहरुले बताएका छन् । बाढीले रोपेको, रोप्न तयार भएको र व्याड समेत बगाएको वडाध्यक्ष नेव बहादुर खड्काले बताए । पानी नरोकिएपछि शारदा नदिको बहाव पनि अहिले उच्च रहेको छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस