कोरोना व्यवस्थापन समितिले आइसियु र अक्सीजनसहितका बेड संख्या बृद्धि गर्ने

दाङ । कोरोना संक्रमण बढ्दै जान थालेपछि दाङमा आइसियु र अक्सीजनसहितका बेड संख्या बृद्धि गर्ने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले कोरोना विषेश अस्पताल बेलझुण्डिमा रहेको ५ बेडको आइसियु बेडलाई स्तरबृद्धि गरी २५ को बनाउने निर्णय गरेको हो ।

त्यसैगरी, देउखुरी क्षेत्रका चारवटा पालिकाले २५ बेडको अक्सीजनसहितको बेड तत्काल बनाउने र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको १७ बेडलाई २५ बेडमा बृद्धि गरेर बिरामीको उपचार गर्ने निर्णय भएको छ । सिकिस्तलाई आइसियुमा भर्ना गर्ने, अक्सीजन दिनुपर्ने अबस्थाका लागि घोराही तथा लमहीमा राख्ने र सामान्य अवस्थाकालाई घरकै आइसोलेसनमा व्यवस्थापन गर्ने समितिले निर्णय गरेको छ । साथै बेलझुण्डि कोरोना अस्पतालमा अध्ययन गरिरहेका आयुर्बेदका बिद्यार्थीहरुका लागि करिब ५० लाखको भवन तत्काल बनाउने समेत निर्णय भएको छ । त्यसका लागि घोराही र तुलसीपुर उपमहानगरले ११÷११ लाख र अन्य पालिकाहरुले ७ लाख रुपैयाँका दरले रकम उठाएर भवन बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

त्यसैगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने तर्फसमेत अब स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । अनिवार्य मास्क लगाउने, भिडभाड नगर्ने र स्यानिटाइजरको प्रयोग गर्न तर्फ सबै नागरिकहरुलाई बैठकले आग्रह समेत गरेको छ । पछिल्लो समय संक्रमितको दर दैनिक बृद्धि हुँदै गएको छ । पिसिआर परिक्षण गरेका मध्य ७५ प्रतिशतमा कोरोना देखिएको र सबै कडा खाले लक्षणसहितका रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन डा. बसन्त लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस