जिल्लाभर स्थानीय जनगणनाका कार्यालयहरु उद्घाटन
दाङ । मेरो गणना, मेरो सहभागिता भन्ने मुल नाराका साथ नेपाल सरकार केन्द्रिय तथ्यांक बिभाग अन्तर्गत राष्ट्रिय जनगणना २०७८ को अभियान सुरु हुने क्रममा बिहीबार जिल्लाभर स्थानीय जनगणनाका कार्यालयहरु स्थापना गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
जस अनुसार बिहीबार दाङका ७ स्थानमा स्थानीय जनगणना कार्यालय उद्घाटन भएका छन् । जस अनुसार देउखुरीको गढवा र राजपुरलाई समेट्नेगरि गढवामा कार्यालय उद्घाटन गरिएको स्थानीय जनगणना अधिकारी दुर्गाप्रसाद चौधरीले जानकारी दिए । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले गढवामा कार्यालयको उद्घाटन गरेका हुन् ।
यसैगरी लमही नगरपालिका र राप्ती गाउँपालिकालाई समेटेर लमहीमा कार्यालय उद्घाटन गरिएको छ । त्यस्तै घोराही उपमहानगर र बंगलाचुली समेटेर घोराहीमा २ वटा कार्यालय स्थापना गरिएको छ भने तुलसीपुर उपमहानगरपालिका र दंगिशरणको केही भाग समेटेर तुलसीपुरमा २ वटा कार्यालय स्थापना गरिएको छ । त्यसैगरी शान्ती नगर र बबई गाउँपालिकालाई समेटेर बबईको हापुरेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय दाङले जानकारी दिएको छ ।
जनगणनाका लागि जिल्लाभर १ सय २७ जना सुपरिबेक्षक तथा ७ सय ३९ जना गणकहरु प्रिचालन गरिने भएको छ । जसका लागि यहि बैशाख १६ देखि २२ गतेसम्म जिल्लाभरका सुपरिबेक्षकहरुलाई घोराहीमा तालिम संचालन गरिने छ भने गणकहरुका लागि एक महिनापछि अर्थात् जेठ १६ देखि २२ सम्म स्थानीय स्तरमा तालिम संचालन गरिने जिल्ला जनगणनाको कार्यालयले जनाएको छ । दाङका स्थानीय तहमा जनसंख्याका आधारमा गणकहरु प्रिचालन हुने र गणकहरुको सर्टलिष्ट नामावली केन्द्रबाटै आउने बताइएको छ ।
यो अभियान २ चरणमा संचालन गरिने छ । पहिलो चरणमा सुपरिबेक्षकद्धारा प्रत्येक घरहरुमा पुगी पारिवारीक विवरण संकलन गरिने छ । दोश्रो चरणमा गणकहरुद्धारा प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली मार्फत पारिवारीक बिवरण तथा ब्यक्तिको जन्म, मृत्यु, बसाइसाराई लगायत अन्ग जनसंख्याका विवरणहरु संकलन गरिने छ । घर तथा परिवार सुचिकरण फाराम आगामी बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म गरि २० दिन र मुख्य प्रश्नावली फाराम जेठ २५ देखि असार ८ सम्म भरिने छ ।
दोश्रो चरण अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तरीय सामुदायिक प्रश्नावली मार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पुर्वाधार र बिपद् सम्बन्धी विवरणहरु संकलन गरिने जनगणना कार्यालयले जनाएको छ ।