असहाय बालबालिकालाई शैक्षिक सामग्री

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीका ३० जना असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार एक कार्यक्रमगरी उनीहरुलाई झोला, एक दर्जन कपी, सिसाकलमलगायतका शैक्षिक सामग्री सहयोग गरिएको हो । समाजसेवी जागेश्वर ओली र दिदी घर संस्थाको पहलमा उनीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो । ओलीले झोला र दिदी घर संस्थाले कपी तथा सिसाकलम सहयोग गरिएको हो ।

दिदीघर संस्थाले यसअघि पनि त्यहाँका साहाराविहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको थियो । बालबालिकाहरुको पठन–पाठनमा कुनै असर नगरोस् भनी शैक्षिक सामग्री वितरण गर्दै आएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताईन् । उनले दुई दशकदेखि यस्ता विद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताईन् । त्यस्तै कार्यक्रममा समाजसेवी ओलीले आर्थिक अभाबकै कारण कुनै पनि विद्यार्थी पठन–पाठनबाट बञ्चित नहोस् भनि सहयोग गरेको बताए । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा तुलसीपुर १३ का वडा सदस्य कमला नेपालीले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताइन् । त्यस्तै किवानिस क्लब अफ राप्तीका अध्यक्ष विमल पोखरेल ‘जेठु’ले शिक्षा नै धन भएको भन्दै कुनै पनि वालवालिकालाई शिक्षाबाट बञ्चित हुन नदिन यसरी सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रहरी कार्यालय फुलवारीका प्रमुख जनक पुन मगर, स्थानीय तिर्थराज चौधरी, चिरञ्जिवी वली, शान्ता वली, बुद्धि वलीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस