पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको प्यानलसहित विजयी

दाङ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलसहित विजयी भएको छ । पाँचवटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मतभन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भएपछि उनी विजयी भएका हुन् ।

निर्वाचन समितिले उनको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन्तिम परिणाम आउनु्भन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला शर्मासँग २१ सय मतको अग्रता रहेको छ । महासंघका लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् । यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखासमिति सदस्यमा लेखनाथ न्यौपाने वियजी भएका छन् ।

महासंघको धेरैजसो जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्स तर्फ पनि प्रेस युनियन र प्रेस संगठनकै प्यानलका उम्मेद्वारले जितेका छन्। पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियनले माओवादी निकट प्रेस संगठनसहित ११ दल नजिकका संगठनसँग गठबन्धन गरेको थियो । एमाले निकट प्रेस चौतारीले जसपा, राप्रपालगायत नौ दल निकट संगठनसँग गठबन्धन गरेको थियो । यो चुनावमा पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको थियो । १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस