होटल ब्यवसाय पर्यटन प्रबर्धनको आधार : मुख्यमन्त्री
लमही । होटल ब्यवसाय पर्यटन प्रबर्धनको आधार भएको देउखुरीको राप्ती गाउँपालिकामा भएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलले बताए । होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखे्रलले यस्तो बताए । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखे्रलले रुख छाप्रा र धर्मशालाबाट सुरु भएको होटल ब्यवसाय अहिले बिकसित रुप लिदै २ दशकको हाराहारीमा नेपालमा आधुनिक र ब्यवसायिक पेशाको रुप ग्रहण गरेको बताए । होटल ब्यवसायलाई संस्थागत मात्र हैन कोअपरेट ढाँचामा ढाल्नुपर्ने पोखे्रलले बताए । होटलहरुले पाहुँना खोज्नेभन्दा पनि पाहँुनाहरुले खोजेको चिज पूरा गर्नुपर्ने उनको धाराणा थियो । आन्तरिक र वाहिय पर्यटन आकर्षण गर्नका लागि मेला महोत्सवको रुपमा फरक–फरक परिकार फरक फरक होटलमा पाईने गरि पर्यटकीय होटल ग्रामको अबधारण बिकास गर्नुपर्ने मुख्यमन्त्री पोखे्रलले बताए ।
महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षता र मुख्यमन्त्री पोखे्रलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका वन वातावरण उद्योग तथा पर्यटन मन्त्री लिला गिरिले पर्यटन बिकासको मुल आधार होटल ब्यवसाय भएको बताउँदै पर्यटन आकर्षण गर्ने ढंगले होटल ब्यवसायलाई आधुनिक तवरले लैजानुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै होटल ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले नेपालमा होटल ब्यवसायमा ६ लाखले रोजगारी पाएको, २ खर्ब ८४ अर्ब लगानी रहेको बताए । कार्यक्रममा होटल ब्यवसायी संघ भालुबाङका अध्यक्ष महेश बेल्बासे, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव नेपाललगायतले बोलेका थिए ।
अध्यक्षमा काफ्लेको नेतृत्व सर्बसम्मत
यसैबिच शनिवार दिउँसो ३ बजेबाट सुरु भएको महासंघको अधिवेशनको बन्दशत्रले होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको नयाँ नेतृत्वमा भाष्कर काफ्ले सर्बसम्मत चयन भएका निर्वाचन अधिकृत हरी बेल्बासेले जानकारी दिए । महासंघको बरिष्ठ उपाध्यक्षमा महेन्द्र श्रेष्ठ (रुपन्देही), प्रथम उपाध्यक्ष एकनारायण चापागाई, द्धितिय उपाध्यक्ष घनलाल चापागाई, महिला उपाध्यक्ष गिता गौली र पर्यटन उपाध्यक्षमा समुन्द्र जिसी चयन भएका हुन् । यसैगरी महासचिवमा दधिराम भण्डारी (प्युठान), उपमहासचिव गणेश बेल्बासे (रुपन्देही), सहसचिव महेश बेल्बासे(दाङ), कोषाध्यक्ष दिपेन्द्र पुन(दाङ), सहकोषाध्यक्ष खेतुलाल उपाध्याय ररेका छन् भने सचिव पदमा कपिलबस्तुका २ जनाको उमेदवारी परेकोमा दुबै जनाले उमेदवारी फिर्ता लिएपछि कार्यसमितिले मनोनित गर्ने भएको छ । त्यस्तै सदस्यहरुमा दयाराम थापा, भोजराज शर्मा, रमेश ढकाल, टेकनारायण सापकोटा, लिलाधर भट्टराई, लालुराम पाण्डे, शिबप्रसाद घिमिरे, रामकृष्ण भण्डारी, मोहन सिंह ठकूरी, रावती चौधरी, दुर्गा बम र गञ्जबहादुर थापा रहेका छन् ।
यसअघि निर्वाचन कार्यतालिकाको घोषणा भएपछि अधयक्ष पदमा गुल्मीका युवराज भण्डारी र नेपालगंजका भाष्कर काफ्लेले मनोनयन दर्ता गरेका थिए । त्यस्तै सचिव पदमा २ जना, महिला उपाध्यक्षमा २ जना, पर्यटन उपाध्यक्षमा २ जना र सदस्य पदमा १३ जनाले मनोनयन दर्ता गरेका थिए । सर्बसम्मत नेतृत्व चयन हुने संभावना टरेपछि शनिवार होटल ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सहितको टिम आएर सर्बसम्मत नेतृत्व चयन गराउन भूमिका खेलेको निर्वाचन समितिले जनाएको छ ।