विध्यार्थीसँग न्यायिक संवाद कार्यक्रम

तुलसीपुर । उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञान ज्योती माध्यमिक विद्यालयमा कानुन विषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको उच्च अदालत तुलसीपुरका उप–रजिस्ट्रार मानबहादुर बिष्टले बताए ।

माननिय न्यायाधिश ऋृषिराम दवाडीको अध्यक्षतामा भएको न्यायिक संवाद कार्यक्रममा प्रमुख अतिथि माननिय न्यायाधिश रमेशराज पोख्रेलले न्यायिक संवाद कार्यक्रममा न्याय सम्पादन प्रक्रिया, नागरिक र सरोकारवालाको भूमिका तथा उच्च अदालतको सेवा प्रवाहबारे जानकारी गराएका थिए । कार्यक्रममा अदालतका रजिस्ट्रार यमबहादुर बुढामगरले न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना अन्तर्गतका निर्धारित क्रियाकलाप सञ्चालन भएको बताए । न्यायालयबारे नागरिकका धारणा, सुझाव ग्रहण गर्न साथै न्यायालयका प्रक्रिया र अवस्थाबारे जानकारी गराउन विभिन्न गतिविधि सञ्चालन भइरहेको उनको भनाई थियो । कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले माननिय न्यायाधिशहरुसँग विद्यार्थीहरुले यसरी अन्तक्र्रिया गर्न पाउनु खुशीको कुरा भएको र यसले उनीहरुको थप क्षमता अभिवृद्धि हुन सहयोग पुग्ने बताए । कार्यक्रममा विद्यालयका सहायक प्राचार्य मनोज केसी, एकेडेमिक कोर्डिनेटर शरद गौतम, कानुन बिषयगत शिक्षक तुफानबाबु श्रेष्ठ, सोमराज केसी, उत्तम डाँगी लगायतको सहभागिता रहेका थिए ।

न्यायिक संवाद कार्यक्रममा विध्यार्थीहरुले विविध कानुनी जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सहजीकरण उच्च अदालत तुलसीपुरका शाखा अधिकृत भुपाल भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस