कोइलाबासमा महिलाहरुको क्षमता अभिबृद्धि कार्यशाला सुरु

कोइलाबास । गढवा–८ कोइलाबासकी पिंकी गुप्ताले निवेदन लेख्ने र बैठकका निर्णयहरु कसरी लेखिन्छ भन्ने पत्तै नभएको बताइन् । वडा कार्यालयमा आउँदा निवेदन लेखाउने मान्छे खोज्नु पर्दथ्यो तर अब गाउँपालिकाले निवेदन लेख्न सक्ने बनाउन थालेको छ अझै एक दिन यस्तै तालिम लिन पाएपछि सजिलै निवेदन लेख्न सकिने मलाई आँट आएको छ–गुप्ताले भनिन् । गुप्ताले जस्तै बस्तिस्तरबाट योजनाहरु कसरी छान्ने र ति योजनाहरुको प्राथमिकिकरण कसरी गर्ने यो तालीमले धेरै सिकाई भएको छ । गढवा ८ कोइलाबासकी कविता शर्माले भनिन् । छानिएका योजनाहरुमा उपभोक्ता तथा अनुगमन समिति कसरी बनाउने र कसरी बैठकका निर्णयहरु लेख्ने यस्ता प्रकृयाहरु ऋहिलेसम्म कसैले सिकाएको थिएन । यो सिकाई अभ्यासले महिलाहरुको पक्षमा योजना बनाउने र बैठक बसी निर्णय लेख्ने तथा उपभोक्ता समितिमा बसेर काम गर्न सक्ने आधार दिएको कोइलाबासकै मिना थापाको भनाई छ ।

उनीहरु जस्तै गढवा गाउँपालिको महिला तथा वालवालकिा शाखाले सोमवार गढवाको कोइलाबासमा आयोजना गरेको महिलाहरुको क्षमता अभिबृद्धिका लागि अभिमुखिकरण तथा लेखन कार्यशालामा सहभागी भएका अधिकांश महिलाहरुले जाँगर लगाएर कार्यशालामा सहभागि भएको पाइएको हो । कुनैपनि सरकारी गैरसरकारी कार्यालयमा जाँदा निवेदन कसरी लेख्ने, न्यायिक समितिमा जाँदा कसरी निवेदन लेख्ने र योजनाहरुका निर्णयहरु कसरी लेख्ने भन्ने बिषयमा गढवा गाउँपालिकाले ८ वटै वडाका महिलाहरुलाई क्षमता अभिबृद्धि गराउन थालेको हो ।कार्यक्रम अन्तर्गत गढवाको वडा नं. ६, ७, १, २, ४ र ५ मा महिलाहरुको क्षमता अभिबृद्धि तथा लेखन कार्यशाला सम्पन्न भै सकेको शाखाका कर्मचारी सुरेश पौडेलले जानकारी दिए । गढवा गाउँपालिका वडा नं. ८ र वडा नं. ३ मा सोमबारदेखि यो कार्यक्रम सुरु भएको गाउँपालिकाले जनाएको छ । वडा नं. ३ मा वडा अध्यक्ष तुलसीराम अधिकारी र वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीले सोमवार आ–आफ्ना वाडाको कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा महिलाहरुको हकहित र अधिकार प्राप्तीका लागि बिद्यमान कानूनी ब्यवस्थाका बारेमा पनि जानकारी गराइएको शाखाले जनाएको छ ।

कार्यक्रमको प्रशिक्षकमा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका सचिव कमल गौतम, प्रशिक्षक पुष्प अधिकारी र शाखाका कर्मचारी सुरेश पौडेलले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस