आगलागी हुँदा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट

बाँके । बाँकेमा आगलागी हुँदा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ खोदाबामा भएको आगलागीबाट एक सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । दिउँसो लागेको आगो नरैनापुर, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले साँझ मात्रै नियन्त्रणमा लिएका थिए ।

आगलागीमा घाइते भएका तीनजना महिलाको नेपालगञ्जमा उपचार भइरहेको छ । अहिले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत वितरणको काम गरिरहेका छन् । विभिन्न निकायसँगको समन्वयमा आज रातीको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र भोली जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहतका थप प्याकेज ल्याउने पनि प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

खरले छाएका र एकआपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुश्किल भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस