मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै
काठमाण्डौ । आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । काठमाडौको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लागेकी छिन् । आज दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने भएका छन् ।
यसअघि आयोजनाले २३ गते सोमबार उद्घाटन गर्ने भने पनि पानी वितरणमा ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए । अहिलेसम्म काठमाण्डौको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ । यसैबीच, काठमाडौ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ ।
बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज (शुक्रबार) बिहान पाँच बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।