राप्ती राजमार्ग खडक खण्ड जोखिम

सल्यान । दाङ, सल्यान, रुकुम जोड्ने राप्ती राजमार्ग जोखिम पर्न थालेका छन् । स्थानीय तहले जथाभावी रूपमा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतिग्रस्त हुन थालेका हुन् । राजमार्गमा जथाभावी सडक खोलिनु सार्वजनिक सडक ऐन २०३१ विरुद्ध हुने भए पनि स्थानीय तहले राजमार्ग नै मिचेर शाखा सडक बनाइरहेका छन् ।

राजमार्गको प्रवाह नगरी खनिने शाखा सडकले कालोपत्रे फुट्नुका साथै खाल्टाखुल्टी पर्ने, नाली, पर्खालसमेत भत्किएका छन् । अन्धाधुन्ध रुपमा काटिने ग्रामीण सडकले दुर्घटनाको जोखिमसमेत बढाएको यातायात व्यवसायीहरुको भनाइ छ । अनाधिकृत रुपमा खनिएका सहायक सडकले दुर्घटना बढाउने सम्भावना बढाएको यातायात व्यवसायी शिवराज गौतमले बताए । उनले भने, ‘जथाभावी सडक काट्दा राजमार्ग साँघुरो भइरहेका छन् । सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटना पनि बढाएको छ ।’

शाखा सडकका कारण राजमार्गको नालीमा अवरोध हुने, सडक बिग्रिने भत्किने गरी पहिरो तथा लेदो आउने, सडकको कालोपत्रे उप्किँदा खाल्टाखुल्टी पर्ने लगायत समस्या भइरहेको अर्का यातायात व्यवसायी टेकबहादुर वलीले बताए । शाखा सडक निमार्णले सडकमा क्षति हुँदा यातायात सञ्चालनमा समस्या हुने गरेको उनको भनाइ छ । उनले भने, ‘शाखा सडक नखन्ने होइन तर मुख्य सडकलाई क्षति पु¥याएर काम नगरिदिए हुन्थ्यो ।’ सल्यानका १० स्थानीय तहमध्ये ६ वटा कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, सिद्धकुमाख गाउँपालिका, शारदा र बागचौर नगरपालिकालाई छोएर राप्ती राजमार्ग बनेको छ

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस