एनपीएल : फाइन प्रवेशका लागि चितवन र सुदूरपश्चिम आज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेशका लागि अन्तिम टोलीको टुङ्गो आज लाग्दै छ । सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच एनपिएलको सिजन ३ को दोस्रो क्वालिफायर प्रतिस्पर्धा हुँदैछ। यो खेलको विजेताले शनिबार लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

सुदूरपश्चिम त्यो टोली हो जसले पछिल्लो दुबै संस्करणको फाइनल खेलेको छ। सुदूरपश्चिम, लुम्बिनी र जनकपुर बोल्ट्स मात्र अहिलेसम्म फाइनलमा पुगेका छन् । चितवन आजको खेलमा विजयी भएमा एनपिएलको फाइनल पुग्ने चौथो टोली बन्नेछ । दोस्रो क्वालिफायर पुग्नु पनि चितवनको अहिलेसम्मको उच्च प्रदर्शन हो। पहिलो संस्करणको एलिमिनेटरबाट बाहिरिएको चितवन दोस्रो संस्करणमा प्ले अफ पुग्न असफल भएको थियो।

हिजो एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो। पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम पहिलो पटक दोस्रो क्वालिफायर खेल्दैछ। यसअघिका दुबै संस्करणमा पहिलो क्वालिफायर जित्दै सोझै फाइनल पुगेको थियो। 

सुदूरपश्चिम र चितवनबीच एनपिएलमा चौथो पटक भेट हुँदैछ। ३ पटक भेटमा २ पटक सुदूरपश्चिम र १ पटक चितवन विजयी भएको थियो। यो सिजनको लिग चरणमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो। चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६।४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। 

पहिलो संस्करणमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो। चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८।२ ओभरमा १ सय ३१ रनमा समेटिएको थियो। दोस्रो संस्करणको खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले हराएको थियो। सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७।१ ओभरमा १ सय २० रनमा अलआउट भएको थियो। लिग चरणमा सुदूरपश्चिम दोस्रो हुँदै पहिलो क्वालिफायर र चितवन चौथो हुँदै एलिमिनेटरमा पुगेको थियो। 

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस