नेपाली माटो सुहाउँदो शिक्षा : नगरप्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले नेपाली माटो सुहाउँदो शिक्षा अनिवार्य रुपमा लागु गर्नुपर्ने बताए । सक्सेस एकाडेमीको वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरु कक्षा १२ उत्तीर्णसँगै उच्च शिक्षाका लागि विदेश पलायन हुनेको संख्या बढ्दै गएकाले अब नेपाली माटो सुहाउँदो शिक्षा अनिवार्य रहेको बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खड्काले नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरी पाठ्यक्रममा योग र स्काउटका विषय अनिवार्य गर्न थालिएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले संस्थागत विद्यालयहरुले शैक्षिकस्तर सुधार गरेसंगै अध्यापन गराउने शिक्षक कर्मचारीहरुको सेवा सुविधामा समेत विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्याब्सन दाङका उपाध्यक्ष विजय जिएम, अप्टिमस क्लवका अध्यक्ष मानबहादुर बस्नेतलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।