मेरो १८ महिने कार्यकाल कुशलतापूर्वक कार्य सम्पादन भयो : मुख्यमन्त्री केसी

दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पादन भएको दावी गरे । मंगलबार राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित एक  कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकाल कुशलतापूर्वक कार्य सम्पादन भएको दावी गरे । यस्तै उनले प्रदेशलाई आफ्नो कार्यकालमा नयाँ उचाइ उठाएको भन्दै त्यो समीक्षा आफ्नो कार्यकाल सकिएपछि जनताले अनुभूति गर्ने पनि बताए ।

उनले १८ महिने कार्यकालमा प्रदेशवासी जनताको समृद्धिका लागि पूर्णरूपले लागि परेको भन्दै आफ्नो कार्यकाल सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । उनले भने,‘ मैले २०७८ साल साउन २८ गते नेतृत्व लिएको थिए । मैले प्रदेशवासी जनताको हितमा गरेको छु । यो काम गर्नका लागि मलाई जसरी सहयोग गर्नुभयो त्यसका लागि सबैलाई धन्यवाद छ । सरकारको काम कार्यलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने र सफल बनाउनको सहयोग गर्ने प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रदेश प्रमुख सचिव, प्रदेश सचिव, सचिवालयको टिम, कार्यालय सहयोगी, सुरक्षा निकाय राजनीतिक नेतृत्वमा धन्यवाद व्यक्त गर्दछु ।’

उनले आफ्नो कार्यकाल निर्विवाद रुपमा कार्य सम्पन्न हुनुमा सबैको योगदानले भएको भन्दै त्यसका लागि सबैले पु¥याएको योगदानको उच्च मल्याङ्कन गरेको पनि बताए । उनले आफ्नो नेतृत्वमा प्रदेश सभाले गरेको निर्णय राजधानी बाट कार्य सञ्चालनलाई कार्यन्वयन गरी आफ्नो सपना साकार पारेको पनि बताए । उनले भने,‘ हरेकलाई युगमा एक पटक इतिहास निर्माण गर्ने अवसर हुन्छ । जो हामीले गरेको छौँ । हरेक मानिसलाई इतिहास रच्ने एक दिनको पनि एक सेकेन्डमा अवसर प्राप्त हुन्छ । त्यो हामीले पूरा गरेका छौँ । यो सबैको योगदानले सफल भएको हो । यसलाई आगामी दिनको सरकारले बचाई राख्ने छ । हामीले इतिहास रच्ने अवसर पायौँ । यो भावी सन्तति अध्ययन गर्नेछन् ।’

यस्तै उनले आफूले राजनीतिक पुँजी कमाएको भन्दै त्यसले अझै जनताको सेवा गर्ने उर्जा मिलेको र आगामी दिनमा पनि जनताको सेवा गर्ने पनि उल्लेख गरे । उनले आफू राजनीतिक अगुवाइ गर्नका लागि रहेको भन्दै जनताको सेवा भन्दा आफ्नो केही सपना नभएको पनि प्रस्ट पारे । उनले प्रदेश सरकारले निर्विवाद रुपमा सबैको समन्वय, सहकार्यमा कार्य सम्पादन गरी लुम्बिनीलाई नयाँ उचाइ उठाएको पनि दाबी गरे । कार्यक्रम प्रमुख सचिव डा. दीपक काफ्ले मुख्यमन्त्रीको कार्यकाल कुशलता पूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरे ।

उनले लुम्बिनी प्रदेशको हितमा काम गर्नका मुख्यमन्त्रीले अहोरात्र लागेर सकारात्मक रुपमा परिणाम देखिने गरी कार्य गरेको पनि बताए । लुम्बिनी प्रदेश २०७३ साल फागुन ३ गते स्थापना भएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल पछि २०७८ साल साउन २८ गते मुख्यमन्त्री केसीले नेतृत्व लिएका थिए ।

यस्तै उनले कार्यक्रममा प्रमुख राजनीतिक सल्लाहकार, निजी सचिवालय, कर्मचारी, कार्यालय सहयोगी, चालकहरू, सङ्घसंस्थालाई समेत प्रशंसापत्रले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, जनसम्पर्क सल्लाहकार रमेश बहादुर वली, मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी, प्रदेश सचिव, सचिवालयको कर्मचारीहरूको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस