बबईमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता

दाङ । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुवेर वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका वडा नं. २ सिमलकुुना निवासी अन्दाजी १५÷१६ बर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४÷१५ वर्षीया गोमा चन्द बगेर वेपत्ता भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.११ र दंगीशरण गाउँपालिका वडा नं. २ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन जना किशोरी गएका थिए । ति मध्ये दुईजना पौडी खेल्न पनि बीचमा गएको र अर्का दंगीशरण २ सिमलकुना निवासी १३ बर्षीया निरुता बस्नेत छेउमै थिइन् ।

उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई बोलाएको थियो । अहिले प्रहरी तथा स्थानीयले घटनास्थलमा वेपत्ताहरुको खोजी कार्य जारी राखेको छ । उनीहरुले नुहाउने ठाउँमा ड्याम जस्तो भएकाले पनि उनीहरु बेपत्ता भएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस