खस्कदै सामुदायिक विद्यालय

दाङ । दाङका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण खस्कदै गएको छ । विद्यार्थी संख्या घट्दै गएपछि दुईवटा सामुदायिक सिकाई केन्द्र निष्क्रिय भएका छन् भने सातवटा विद्यालय मर्ज गरिएको छ । कक्षामा एकजना पनि विद्यार्थी नभएपछि दाङमा १७ वटा विद्यालयमा कक्षा नै स्थगन गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख मित्रप्रसाद गौतमले सरकारी विद्यालयको स्तर खस्केका कारण विद्यार्थीको आकर्षण घटेको स्वीकार गरे । शिक्षा विकास तथा समन्वय इकाई दाङले घोराही उपमहानगरपालिकामा ८० वटा संस्थागत र ९२ वटा सामुदायिक गरी १७२ वटा विद्यालय रहेको जनाएको छ ।

यस्तै तुलसीपुरमा ८२ सामुदायिक र ७३ संस्थागत गरी १५५, गढवामा ३२ सामुदायिक र १४ संस्थागत गरी ४६, लमहीमा २७ सामुदायिक र २२ संस्थागत गरी ४९, राप्तीमा ३१ सामुदायिक र १५ संस्थागत गरी ४६, राजपुरमा ३२ सामुदायिक र ५ संस्थागत गरी ३७ वटा विद्यालय रहेको शिक्षा समन्वय इकाईले जनाएको छ ।

त्यस्तै बंगलाचुलीमा ४१ सामुदायिक र एउटा संस्थागत गरी ४२, दंगीशरणमा १५ सामुदायिक र नौ संस्थागत गरी २४, शान्तिनगरमा २८ सामुदायिक र सात संस्थागत गरी ३५ र बबईमा ३४ सामुदायिक र ७ संस्थागत गरी ४१ विद्यालय सञ्चालनमा छन् ।

दाङका ४१४ वटा सामुदायिक विद्यालयमा १ लाख ७ हजार ५६४ विद्यार्थी छन् भने २३३ वटा संस्थागत विद्यालयमा ७५ हजार ८८ विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस