घोराही उपमहानगर : गठबन्धनलाई हराउँदै एमाले विजयी, दोहोरिए नरुलाल

दाङ । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरीले यस पटक पनि आफ्नो सिट सुरक्षित राख्न सफल भए । उनले ३१७२८ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा‘डायमण्ड’ले २६३६८ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ५३६० छ ।

त्यस्तै उपमेयरमा एमाले कै हुमा डीसी विजयी भएकी छिन् । डिसीले गठबन्धनको तर्फबाट काँग्रेसका भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भएकी हुन् । डीसीले ३०४०३ मत प्राप्त गरेकी थिइन्, भने डाँगीले ३०३५४ मत प्राप्त गरेका थिए ।

डाँगी २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट घोराहीको मेयरमा उम्मेदवार थिए । त्यतिबेला एमालेका नरुलाल चौधरीका निकटम प्रतिद्वन्दी थिए । अहिले गठबन्धन पछि उनी घोराहीको उपमेयरको उम्मेदवार बनेका थिए । एमालेले १९ वटा वडा मध्ये १३ वटामा विजयी हाँसिल गरेको छ ।

१९ वडा रहेको घोराहीमा एमालेले १३ वटा वडामा जित निकाल्न सफल भएको छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७, १८ मा जित निकाल्न सफल भएको हो । त्यस्तै माओवादी केन्द्रले वडा नं. ९ मा मात्र जित निकालेको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले ३ वटा वडामा जित्न सफल भएको थियो । त्यस्तै काँग्रेसले ५ वटा वडामा जित निकाल्न सफल भएको छ । काँग्रसले वडा नं १०, १३, १५, १६ र १९ नं वडामा जित निकाल्न सफल भएको हो । घोराहीमा सत्तापक्ष गठबन्धन थियो । जसमा मेयर माओवादी केन्द्र र उपमेयर काँग्रेसको भागमा थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस