नरुलालको अन्याय : घोराही १४ र १५ को बजेट कटाएर आफ्नो घर छेउमा पक्की सडक

दाङ । हाल घोराही उपमहानगरपालिकाको बजार क्षेत्र रहेको वडा नम्बर १४ र १५ को सडक धुलाम्य अवस्थामा छ । ५ वर्ष सम्म निदाएर बसेको उपमहानगरपालिकाले चुनावको मुखैमा आएर मतदाता प्रभावित गर्नका लागि सडक कतैकतै स्तरोन्नती गरेजस्तो गरिरहेको छ । तर यस क्षेत्रको विकासका लागि आएको बजेट स्थानान्तरण गरेर अनेत्र नलगिएको भए हालको जस्तो अवस्था हुने थिएन ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी सघन शहरी विकास कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिकाको बजार क्षेत्रको विकासका लागि आएको बजेट आफ्नो घर छेउको सडक स्तरोन्नती गर्नका लागि स्थानान्तरण गरेपछि यहाँका बजारवासीले समस्या व्यहोर्नु परेको हो । उक्त आयोजनाबाट हाल मेयर चौधरीको गाउँ पर्ने सुनपुर— सिमलतारा सडकखण्ड स्तरोन्नती गरिएको छ ।

न्युनतम कार्यसम्पादन मुल्याँकनमा उत्कृष्ट भएपछि घोराही नगरपालिका भित्र सडक तथा अन्य पुर्वाधारको विकासका लागि विश्वबैंकले २०७२/०७३ सालमा नै करिब २ अर्ब बजेट उपलब्ध गराएको थियो । उपमहानगरपालिकामा जनप्रतिनिधि आउनु अघि नै साबिकको नगरपालिका उत्कृष्ट भएको र त्यसबापत विश्वबैंकले आफैले चासो दिएर नेपाल सरकार भौतिक योजना मन्त्रालय मार्फत सो बजेट उपलब्ध गराएको थियो । साबिकको वडा नम्बर १० र ११ हालको वडा नम्बर १४ र १५ मा रहेको शहरी क्षेत्रमा पुर्वाधार विकास गर्ने उद्देश्यले सो कार्यक्रमको नाम नै सघन शहरी विकास कार्यक्रम राखिएको थियो ।

तर, कार्यक्रमको उद्देश्य र नाम विपरित कार्यपालिका बैठकबाट मेयर नरुलाल चौधरीले उक्त बजट आफ्नो घर छेउका सडक स्तरोन्नतीका लागि स्थानान्तरण गरेका हुन । यसरी थाहा नै नदिएर एकाएक बजेट स्थानान्तरण गरेपछि सो बजेट पार्नका लागि दिनरात मेहनत गरेका कर्मचारीले समेत त्यो समय आपती जनाएका थिए । तर मेयरको एकोहोरो हस्तक्षेपले रोक्न नसकिएको उपमहानगरपालिकाका एक जना कर्मचारीले जानकारी दिए ।‘

वडा नम्बर १४ र १५ मा रहेको शहरी क्षेत्रको सडक विस्तारका लागि सो बजेट आएको थियो । जनप्रतिनिधि नआउँदै हामीले त्यसका लागि दिन रात मेहनत गरेका थियोै ’ ति कर्मचारीले भने ‘ जहाँ सघन रुपमा शहरी बस्ती छ त्यही ठाउँमा बजेट खर्चनुपर्ने भएकाले नै त्यो आयोजनाको नाम सघन शहरी विकास कार्यक्रम राखिएको थियो । तर पछि एकाएक आयोजना रुपान्तरण गरियो ।

सघन शहरी विकास कार्यक्रमको उद्देश्य अनुरुप बजेट खर्चिएको भए हाल घोराहीको बजारक्षेत्र सबैले गौरव गर्न लायक हुन सक्ने सम्भावना भएको उपमहानगरपालिकाका कर्मचारीहरुको भनाइ छ । सो बजेटबाट उपमहानगरपालिकाको बजारक्षेत्रमा सडकमा फुटपात, ढल निकास, व्यवस्थित बिजुलीका तार र सबैभन्दा ठुलो कुरा धुलोबाट बजारबासीले उन्मुक्ती पाउने सम्भावना थियो । तर मेयर चौधरीको भोट तान्ने लालसाका कारण उक्त बजेट उद्देश्य विपरित खर्च भएर घोराही बजारको बासिन्दाले दुःख पाउनुपरेको उपमहानगरपालिकाका कर्मचारीको भनाइ छ ।‘

गाउँमा पनि सडकको विकास गर्नु अपरिहार्य छ । त्यसका लागि अनेत्रबाट बजेटको व्यवस्था गर्न सकिन्थयो । ’ उनले भने ‘ तर बजारको लागि आएको बजेट कटाउनु त यहाँका स्थानीय माथि अन्याय भयो ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस