सुशासन मूल्यांकन प्रक्रिया संघीय सरकारलाई अटेर गर्दै ५५ स्थानीय तह

दाङ । सुशासन मूल्यांकन गर्न संघीय सरकारले गरेको निर्देशनलाई ५५ वटा स्थानीय तहले अटेरी गरेका छन् । स्थानीय तहको चुनावको मुखमा विगत पाँच वर्षको कार्यकालमा स्थानीय तहले गरेका उपलब्धि र कार्यपक्रियाबारे लेखाजोखा गरी मूल्यांकन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको थियो ।

यसका लागि मन्त्रालयले एउटा सफ्टवेयरसमेत तयार पारेको छ । उक्त सफ्टवेयरमा स्थानीय तहले आफूले गरेका सबल र दुर्बल पक्षको पहिचान गरेर विकास तथा सुशासनमा रहेका कमीकमजोरीको जानकारी राख्न तथा अद्यावधिक समीक्षा अपलोड निर्देशन दिइएको छ ।

कार्यसम्पादन तथा मूल्यांकनका लगि स्थानीय तहको संस्थागत प्रबन्ध संगठन तथा प्रशासन, आर्थिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सहकार्य र समन्वय गरी १० वटा विषयमा एक सय वटा सूचक राखिएका छन् ।

मन्त्रालयले गरेको निर्देशनलाई ५५ वटा पालिकाले अटेर गरेको संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस