रेडक्रस गढवामा गठबन्धन र एमाले बिच निर्वाचनको प्रतिष्पर्धा

गढवा । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवामा उपसभापतिको पदमा सहमति कायम हुन नसकेपछि एमाले र गठबन्धनको बिच निर्वाचन सुरु भएको छ । उपसभापति बाहेकका सबै पदहरुमा दलिय सहमति जुटेको तर उपसभापतिमा नेकपा एकिकृत समाजवादी र एमालेको तर्फबाट अलग–अलग उमेदवारी परेपछि एउटा पदमा शुक्रवार बिहान १० बजेदेखि निर्वाचन सुरु भएको हो ।

उपशाखाको आठौं अधिवेशन अन्तर्गत पुर्व कार्यसमितिको २ बर्षे कार्यकाल पुरा भएपछि नयाँ कार्यसमिति चयन गर्ने क्रममा एमालेलाई बाइपास गरेका कारण एकल पदमा उमेदवारी दिइएको एमाले गढवाले जनाएको छ । तर गठबन्धन समूहले भने एमालेलाई सर्बदलिय बैठकमा बोलाईएको र उपसभापति भन्दा तलका उपसचिव र सदस्य पदमा एमाले बस्न नचाहेको बताएको छ । कुल एघार पदमा बिहिवार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्तापछि उपसभापति बाहेक सबै पदहरुमा निर्विरोध सर्बसम्मत भएको निर्वाचन अधिकृतले जानकारी दिए । उपशाखाको सभापतिमा नेपाली काँगे्रसका दयाराम यादव, सचिवमा राष्ट्रिय जनमोर्चाका भरत अधिकारी, उपसचिव र कोषाध्यक्षमा माओबादी केन्द्रका रामदास यादव र महेश कुमार अधिकारी र उपकोषाध्यक्षमा जनता समाजवादी पार्टीका नागेन्द्र प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी सदस्य पदमा नेपाली काँगे्रसका सरस्वती योगी, हिरालाल चौधरी, तुल्सीराम भुसाल, नेकपा एसबाट मोहन कुमार पाण्डे र राष्ट्रिय जनमोर्चाबाट युवराज आचार्य निर्विरोध निर्वाचित भएका छ्न । उपसभापति पदमा भने नेकपा एमालेका मधा न्यौपाने र एकिकृत समाजवादी पार्टीका शारदा पौडेल बिच चुनावी प्रतिष्पर्धा भै रहेको छ ।

उपशाखा अन्तर्गतका रेडक्रस आजिवन सदस्यहरु मतदाता हुने ब्यवस्था भए अनुसार कुल मतदाता ३ सय ७३ जना रहेको मतदान अधिकृत प्रकाश श्रीबन्धले जानकारी दिए । बिहान १० बजेदेखि बेलुका ३ बजे सम्म मतदान हुने र २ बजे भित्र मतदाता कम्पाउण्डमा प्रबेश गर्नुपर्ने निर्वाचन समितिले जानकारी दिएको छ । उपशाखामा निर्वाचीत ११ पद सहित निर्वमान सभापति,उपशाखाबाट चुनिएको जिल्ला समितिको सदस्य र स्थानीय सरकारको बिपद् हेर्ने अधिकारी पदेन सदस्य रहने र एक जना सदस्य उपशाखाको सभापतिले मनोनित गर्ने बैधानीक प्रकृया रहेको निर्वाचन समितिले जनाएको छ ।

एघार पदमा आजिवन सदस्यहरुबाट निर्वाचन हुने ब्यवस्था रहेपनि उपशाखा गढवाको यस समितिमा दलितको प्रतिनिधी एकजना पनि नभएको र ३३ प्रतिशत महिला सदस्य हुनुपर्नेमा जम्मा २ जना महिला रहेको पाइएको छ । मतदानपछि मतगणना गरि शुक्रवार साँझ अबेर सम्म मत परिणाम आउने बताइएको छ ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस