कांग्रेस महाधिवेशन : प्युठानमा मतगणना स्थलमा झडप, प्रहरी सहित ७ जना घाइते

प्युठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्यूठान अधिवेशनको मतगणना स्थलमा झडप भएको छ । मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा मतगणना अन्तिम हुन लागेको बेला विवाद हुँदा झडप भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार एक पक्षले हार्ने अवस्था भएपछि ढुंगा मुडा तोडफोड गर्न लागेपछि स्थिति नियन्त्रणमा लिनको लागि हवाइ फायर गरिएको हो । झडपका क्रममा एक जना नेपाली प्रहरी र एक जना शसस्त्र प्रहरीसहित ७ जना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाईते छन । काँग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती , नौ बहिनी ६ का २६ वर्षीय कुँवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्यूठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा परि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

जिल्ला सभापति पदको लागि संस्थापन पक्षधर शिव रिजाल र संस्थापन इतर पक्षधर विष्णु कुमार गिरी भिडेका थिए । मतगणनाको क्रममा संस्थापन इतर पक्षधर गिरीले अग्रता लिएका थिए । त्यही क्रममा कसैले टिनमा ढुँगा हानेपछि विवाद चर्किएको थियो । संस्थापन पक्षधर रिजालका ब्यक्तिले ढुँगा मुढा सुरु गरेपछि विवाद शुरु भएको थियो ।

खसेको कुल १०६५ मत मध्ये एक हजार मत गणना भइ सकेको थियो । गिरी ६६ मतले अघि थिए । अब जम्मा ६५ मत गणना हुन बाँकी छ । मतगणना अहिले स्थगित भएको र अहिले घटना नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस