विद्यालय खोल्दै स्थानीय सरकार

दाङ । कोरोनाका कारण प्रभावित बनेका दाङका विद्यालयमा पनि भौतिक रुपमै कक्षा संचालन गर्ने तयारी थालिएको छ । लामो समयदेखि भौतिकरुपमा कक्षा सञ्चालन हुन नसकेका दाङका विद्यालयहरुले भौतिकरुपमा नै कक्षा सञ्चालन गर्ने तयारी थालेका छन् । जिल्लाका स्थानीय तहहरुले भौतिकरुपमा नै विद्यालय खोल्नको लागि छलफल सुरु गरेका छन् । घोराही उपमहानगरपालिकाले विद्यालय भौतिकरुपमा नै सञ्चालन गर्न तयारी गरिरहेको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकूद महाशाखाका प्रमुख विनोद गौतमले बताए ।

त्यस्तै शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाको शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । कोरोनाको महामारी घट्दै गएकाले आगामी सातादेखि सबै विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले जानकारी दिए ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा विद्यालय खोल्ने विषयमा बृहत छलफल भएको छ । सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, विपद व्यवस्थापन, प्रशासन, स्वास्थ्य व्यवस्थापन, एन प्याब्सन एवं प्याब्सनलगायतको सरोकारवालाहरुको उपस्थितिमा आयोजित बैठकमा विद्यालय कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिए । सम्भवत तिजपछि विद्यालय खोल्ने विषयमा छलफल भएको छ । कोरोना माहामारीको दोस्रो लहरका कारण गएको बैशाख ९ गतेदेखि विद्यालयहरु भौतिक रुपमा बन्द भएका छन् । त्यस्तै उता, राप्ती गाउँपालिकाले पनि भौतिकरुपमा विद्यालय सञ्चालन गर्न तयारी गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न तयारी भइरहेको बताए । कोरोना जोखिम कायम भएता पनि संक्रमणदर कम भएकाले सबै क्षेत्र खुला भएको अवस्थामा अब विद्यालय पनि संचालन गर्ने तयारी थालिएको हो । केहि समय अगाडि पनि प्युठान, रुकुम पश्चिम लगायतका छिमेकी जिल्लाले भौतिक रुपमै पठनपाठन संचालन गरिसकेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस