अघिल्लो सरकारले ४२ लाखलाई लगायो, हामीले ७५ लाख पु¥यायौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । काठमाडौं र तराईका धेरै जनघनत्व भएको क्षेत्रमा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । संसदमा सार्वजनिक महत्व विषयमा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले विभिन्न खालका व्यवसाय धेरै हुने क्षेत्रमा समेत प्राथमिकताका साथ खोप लगाइने बताए । यस्तै हाल धेरै संक्रमण रहेको १५ वटा जिल्लालाई प्राथामिकता दिएर खोप लगाइने समेत बताए ।

‘अबको खोप अभियान नीजि व्यवसायिक क्षेत्र र तराईका क्षेत्रहरुलाई प्राथामिकता दिइएर लगाइने छ, ‘उनले भने । ३३ प्रतिशत जनतालाई खोप लगाउने सरकारको लक्ष्य हुँदा ५ करोड ५० लाख डोज खोप आवश्यक पर्ने समेत उनले बताए । उनले असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पु¥याएको उनको दाबी छ । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस