दाङमा रेडपाण्डाको छालासहित एक जना पक्राउ

दाङ । दाङमा प्रतिवन्धित बन्यजन्तु रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. १ बस्ने ३२ वर्षिय लोकमान सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार सुनार आज दिउँसो १२ बजे घोराही उपमहानगरपालिका वडा नं. ११ खैराबाट पक्राउ परेका हुन । खैरामा रेडपाण्डाको छाला बिक्री भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा सुनारको साथबाट ३ फिट ३ ईन्च लम्बाई र ८ ईन्च चौडाई भएको छाला फेला परेको थियो ।

साथै प्रहरीले उनको साथबाट रा ४ प ९८५० नम्बरको मोटर साईकल र एक थान मोवाइल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका सुनारमाथि अहिले थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस