बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । समसामयिक राजनीतिक घटनाक्रमका विषयमा दलहरुको धारणा बुझ्न प्रधानमन्त्रीले बैठक डाकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिए ।
पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरहेको र नेकपा (माओवादी) केन्द्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका थिए । त्यस्तै, ओलीले अन्य नेतालाई पनि आफैले फोन गरेर सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सरकार निर्माणका लागि आन्तरिक गृहकार्य भईरहेका बेला बोलाइएको सर्वदलीय बैठकलाई सबैले चासोकासाथ हेरेका छन् ।