माग्यो प्रधानमन्त्रीको राजीनामा, कांग्रेसले सरकारको नेतृत्व लिने निर्णय

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक भेटेर आग्रह गर्दै आएका थिए ।
तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।