एएफसी महिला एसिया कप छनोट : नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि हुनेछ । पहिलो खेलमा लाओसलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको नेपाल आज पनि सोही लय कायम राख्दै जित दर्ता गर्न चाहान्छ ।

यसैगरी सोही समुहमा रहेको आयोजक उज्वेकिस्तानले आजै लाओससँग प्रतिस्पर्धा गर्दैछ । उसले पहिलो खेलमा श्रीलङ्कालाई १०-० गोल अन्तरले पराजित गरेको थियो । यसरी गोल अन्तरको आधारमा समुहको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानले लाओससँगको खेलमा पनि ठूलो गोल अन्तरले जित हासिल गर्न चाहन्छ । 

नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पहिलो खेलपछि भनेका थिए  ‘यो हाम्रा लागि छनोटमा राम्रो सुरुआत पक्कै पनि हो । तर अझै पनि हाम्रो ध्यान आफ्नो ठ्याक्कै अगाडिको खेलमै हुनुपर्छ ।’ उनको स्पष्ट आशय थियो, नेपालले अहिले नै उज्वेकिस्तानविरुद्धको खेलबारे सोचिरहेको छैन, बरू टिमको ध्यान पूर्णतः श्रीलंकाविरुद्धको खेलमा छ ।

लगभग यस्तै सोच उज्वेकिस्तानकी प्रशिक्षक कोट्रान कुलबाटइको पनि छ । उनले श्रीलंकामाथि प्राप्त एकोहोरो जितपछि भनिन्, ‘पहिलो खेलको नतिजा धेरै अर्थमा राम्रो रह्यो । यति ठूलो जितका बावजुत मैले टिममा सुधारको ठाउँ देखेको छु । त्यसैले हामीले आफ्नो पूरा ध्यान लाओसविरुद्धको खेलमा केन्द्रित गरिसकेका छौं ।’

यी दुई टिमको प्रतिक्रिया अनुसार दुबै समुहले आगामी टिमसँगको खेलमा जित दर्ता भन्दा पनि गोल अन्तर फराकिलो बनाउन चाहान्छन् । दुवै प्रशिक्षकले जस्तै दाबी गरे पनि एउटा तथ्य निश्चित छ, समूह विजेताको निर्णय अन्तिम खेलबाटै हुनेछ । त्यो भनेको नेपाल र उज्वेकिस्तानको खेल नै हो । समूह विजेता अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।

यो खेल भने शनिबार हुनेछ । त्यस अगाडि अपेक्षा गरेको छ, नेपाल र उज्वेकिस्नानले पनि आ-आफ्नो दोस्रो खेल सजिलै जित्नेछन् । नेपालले सन् २०१० मा पहिलो पटक श्रीलंकाको सामना गरेको थियो । त्यसमा नेपालको जित अन्तर थियो, ८–१ । त्यसयता नेपाल र श्रीलंकाले एक आपसमा नौपल्ट खेलेका छन् । ती सबैमा विजयी हुने टिम नेपाल नै रहेको छ ।

यी खेलमा पछिल्ला दुई प्रतिस्पर्धामा नेपालले श्रीलंकालाई समान ६-० ले हराएको थियो । अहिलेसम्म सबैभन्दा साँघुरो जित भने १-० को छ । यदि सबैको अपेक्षा अनुसार नै नेपाल र उज्वेकिस्तानबीचको खेल निर्णायक हुनेछ । यो खेल बराबरीमा टुंगिने हो भने समूहको शीर्षमा रहने टिमको निर्णय गोल अन्तरबाट हुनेछ ।

यसमा पनि बराबरी हुने हो भने समूह चरणमा कुन टिमले बढी गोल गरेको हुनेछ, त्यही समूह विजेता हुनेछ । त्यसपछि पनि केही टुंगो लागेन भने लागू हुनेछ, फेयर प्लेमा कुन टिम अगाडि छ भनेर । त्यसमा पनि बराबरी हुने हो भने समूह विजेताको निर्णय टसबाट हुनेछ । तर, प्रशिक्षक डे वाइल्ड भन्छन्, ‘मैले त्यहाँसम्म सोचेकै छैन । जतिबेला उपयुक्त समय आउनेछ, त्यही बेला निर्णय गर्नेछौं ।’

प्रकाशित मिति : २०८२ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस