मोटरसाइकल र स्कुटी चोरी गर्ने ६ जना पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल र स्कुटी चोरी गर्ने गिरोह पक्राउ गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने ६ जनालाई २ वटा मोटसाइकल र एक वटा स्कुटीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेहरूमा मोटरसाइकल चोरी गर्नेहरूमा सल्यान बनगाड कुपिन्डे नगरपालिका १० थापाचौरका २८ वर्षीय मोहन भन्ने मुस्कान घर्ती, बाँके बैजनाथ गाउँपालिका ४ का १८ वर्षीय प्रशान्त खड्का, सोही ठाउँका १९ वर्षीय विशाल बूढा रहेका छन् ।
यस्तै स्कुटी चोर्नेहरूमा तुलसीपुर १३ का १६ वर्षीय एक युवक, तुलसीपुर ५ का २८ वर्षीय सन्तोष परियार र दंगीशरण गाउँपालिका ६ का १९ वर्षीय नवीन परियार रहेको इप्रका तुलसीपुरमा प्रमुख डीएसपी पुष्पराज मल्लले बताए । गत साउन ११ गते राती तुलसीपुर ५ ‘ङ’ लाइन बस्ने गुडु जैसवालको प्रदेश ३–०२–०११ प ८६०३ नम्बरको घर अगाडि पार्किङ गरि राखेको मोटरसाइकल हराएको थियो । उनले साउन १२ गते मोटरसाइकल हराएको निवेदन इप्रकामा दिएका थिए ।

सोको अनुसन्धान गर्दै जाँदा बूढा र खड्काले चोरको खुल्न आएपछि इप्रका कोहलपुर बाँकेको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी मल्लले बताए । उनीहरु दुबै जनालाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल चोरी गर्ने मुख्य व्यक्ति मोहन भन्ने मुस्कान घर्ती रहेको खुल्न आएपछि उनलाई पनि तुलसीपुर १२ स्थित नेपालगञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको अवस्थामा यही साउन १४ गते पक्राउ गरी अनुसन्धान जारी रहेको उनले बताए ।
त्यस्तै मुस्कान र विशालले प्रदेश ३–०२–०११ प. ८६०३ नम्बरको मोटरसाइकल चोरी गर्नु पूर्व गत असार २२ गते तुलसीपुर ५ स्थित गोदामघर स्थित पार्किङ गरी राखेको सोही ठाउँ बस्ने कमल पुनको रा ७ प ३०८४ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । उक्त मोटरसाइकल सल्यान शारदा नगरपालिका ९ सुनचौर भन्ने स्थानमा लुकाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा बरामद गरेको उनले बताए ।
यस्तै यही साउन २० गते तुलसीपुर उपमहानगरपालिका ९ स्थित सोही ठाउँ बस्ने लिना कठायतको रा ८ प ८४२ नम्बरको स्कुटी आफ्नै घरमा राखेको अवस्थामा च्यानल गेटको ताला फोडेर स्कुटी चोरी भएको थियो । स्कुटी चोरीको निवेदन साउन २१ गते इप्रका तुलसीपुरमा निवेदन परेको थियो । त्यसपछि प्रहरीले उक्त स्कुटीको खोजतलास तथा अनुसन्धान गर्दै जाँदा तुलसीपुर १३ घर भई हाल तुलसीपुर ५ बस्ने १६ वर्षीय युवकलाई पक्राउ ग¥र्याे ।
अनुसन्धान गर्दै जाँदा उक्त स्कुटी तुलसीपुर ५ बस्ने सन्तोष परियार र उनले चोरी गरेर दंगीशरण गाउँपालिका ६ बस्ने १९ वर्षीय नवीन परियारलाई १० हजारमा बेचेका खुल्न आएपछि नवीन र सन्तोषलाई पक्राउ गरी स्कुटी नविनले घरमा लुकाई छिपाई राखेको अवस्था फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई चोरी सम्बन्धी कसुर मुद्दा दर्ता गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४२ बमोजिमको कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।