प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताए । सोमबार दाङको टरिगाउँ एयरपोर्टमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले अन्य प्रदेशमा लुम्बिनीमा छिट्टै सरकारले पूर्णता पाउने बताए । उनले भने,‘ सुदूरपश्चिममा पनि लामो समयदेखि सरकारले पूर्णता पाएको छैन् । सबै ठाउँमा सँगै गरौँ, भन्ने हाम्रो नीतिगत निर्णय भएको छ । अबको दुई र चार दिनमा सरकारले पूर्णता पाउँछ । ’ यस्तै उनले लुम्बिनीमा सत्तारुढ दलसँग भागबन्डा मिलेको भन्दै सरकार बनाउनु भन्दा पहिला कसरत हुने र सरकार बनेपछि कुनै कसरत नहुने पनि बताए ।
यस्तै हाल भएका मन्त्रालय थपघट के हुन्छ रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा मुख्यमन्त्री चौधरीले थपघट हुने बारेमा एकरदुई दिनमा देखिने भन्दै अहिले यही हुन्छ, भन्नु पर्ने अवस्था नरहेको समेत बताए । अघिल्लो एमाले नेतृत्व सरकारले मन्त्रालयको संख्या घटाएर १० पुर्याएको छ । यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई नजिकबाट हेर्दै र सुन्दै आएको समेत बताए ।
उनले भने,‘ त्यो प्रकरणमा प्रदेश सरकारले हेर्ने र सुन्ने बाहेक अरु केही छैन् । त्यो हाम्रो क्षेत्रमा पर्दैन । व्यक्तिगत रुपमा पनि देखिरहेको छु, सुनिरहेको छु । व्यक्तिगत धारणा बनाउने पर्ने बेला अझै भएको छैन् । ’ चौधरी यही वैशाख १२ गते मा मुख्यमन्त्री नियुक्त भएका थिए । यस्तै नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि मन्त्रीमा नियुक्त भएका छन् । तर, उनीहरूले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । वर्तमान सरकारलाई ८ राजनीतिक दल र स्वतन्त्र एक जना सांसदको समर्थन छ ।