कागती पकेट क्षेत्र कार्यक्रम कार्यान्वन गरिदै

तुलसीपुर । संघीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्रअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा कार्यान्वयन गर्न थालिएको छ । संघीय सरकारले जिल्लाका दश वटा स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो । कागती पकेट क्षेत्र घोषणासंगै कागती खेतीको बिस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले खेती बिस्तार,प्राविधिक दक्षता,रोग किरा नियन्त्रणको काम बढाएको छ । पहिलो चरणअन्तर्गत व्यावसायीकरुपमा कागती खेतीका लागि किसानहरुलाई प्राविधिक दक्षताको काम सुरु गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमका अनुसार कागती खेती गरिरहेका किसान र खेती गर्नका लागि इच्छुक किसानका लागि गुणस्तरीय बिरुवा उत्पादन, व्यावसायिक सीपको दक्षताका लागि तालिम सुरु गरिएको बताए । उनले किसानहरुलाई व्यावसायीक कागती खेती गरिरहेका ठाउँमा पुगेर सीप प्रदान गरिने बताए । उनले तुलसीपुर उपमहानगरपालिकाको अन्नबाली कम उत्पादन हुने वडा नम्बर १, ३, ४, १९, १८ नम्बर वडामा कागती खेतीको विस्तार गर्न सकिने बताए । शाखा प्रमुख गौतमले कागती खेतीमा देखिने रोग किराको नियन्त्रण र व्यवसायीक खेतीलाई प्रोत्साहन गरिने बताए । शाखा प्रमुख गौतमले एक पटक कागतीको बिरुवा रोपे २५ वर्षसम्म उत्पादन गरेर आम्दानी गर्न सकिने बताए ।
नगरप्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र संघीय सरकारबाट घोषण भएसंगै कार्यान्वयनको चरणमा पुगेकाले यसको विस्तार बजारीकरणमा विशेष ध्यान दिइने बताए । उनले कागती खेतीलाई व्यावसायिकका साथै एक घर एक कागती बिरुवा रोप्ने कार्यलाई अभियानकैरुपमा अघि बढाइने बताए । आर्थिक विकास समितिका संयोजक माधव वलीले स्थानीय उत्पादनलाई बढावा र प्रोत्साहन दिनका लागि तरकारी र फलफूल बजार क्षेत्रमा बिक्री वितरणका लागि कृषिजन्य वस्तु बिक्री वितरण परिचय पत्र वितरण गर्न थालिएको बताए । उनले किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री वितरणका लागि प्रत्येक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म समय तोकिएको बताए ।
यसैबीच किसानहरुलाई व्यावसायीकरुपमा कागती खेती गर्नका लागि प्राविधिक तालिमको सुरु गरिएको छ । आर्थिक विकास समितिका संयोजक माधव वलीलेका अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको छ । कार्यक्रमका विषयमा कृषि शाखाका प्रमुख धनराज गौतमले जानकारी दिए ।