स्वतन्त्र आन्दोलनले मुलुक बन्दैन–महासचिव पोखरेल

दाङ,। नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वतन्त्र आन्दोलनले मुलुक परिवर्तन नहुने बताएका छन । नेकपा एमाले लुम्बिनी प्रदेशको बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै महसचिव पोखरेलले मुलुकको समृद्धिका लागि संगठित आन्दोलनको आवश्कता भएको बताए । हरेक परिवर्तन संगठित आन्दोलनकै उपज भएको र स्वतन्त्र आन्दोलनले मुलुक परिवर्तन नहुनेपनि उनले बताए ।
मुलुक समस्याग्रस्त बन्दै गएको भन्दै महासचिव पोखरेलले राजनीतिक संस्कार समाप्त हुँदा यस खालका समस्या उत्पन्न भएको बताए । स्वार्थपूर्ति गर्नका लागि पाँचदलिय गठबन्धन कायम रहेको दावी गर्दै पोखरेलले मुलुकको समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको र सरकार माफियाकरण हुँदै गएकोतर्फ चिन्ता व्यक्त गर्दै पोखरेलले सरकार माफियाको चंगुलमा फसेको बताएका छन । जनताका समस्या समाधान गर्नुमा भन्दा माफियाको स्वार्थपूर्ति गर्ने दिशामा सरकार लागेको छ । बजेट निर्माणका क्रममा सरकारले नांगो नाच नाचेको छ । मुलुकलाई माफियाकरण हुनबाट जोगाउन एमालेको नेतृत्व आवश्यक भइसकेको छ ।

सरकार चरम भ्रष्टाचार फसेको भन्दै महासचिव पोखरेलले जनतालाई सचेत बनाउन एमालेका नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताए। ‘मुलुकमा कुशासन व्याप्त भएको छ । जनतामा राजनीतिक दलप्रति बितृष्णा उत्पन्न भइरहेको छ । यस्तो अवस्थामा एमालेका नेता कार्यकर्ताहरु सरकारका गतिविधिका बारेमा जनताहरुलाई सचेत बनाउनतर्फ लाग्नुपर्ने महासचिव पोखरेलले भने, ‘इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार वर्तमान सरकारले भित्र्याएको छ । सरकारले भित्र्याएको नीतिगत भ्ष्टाचारले मुलुकको आर्थिक अवस्था जर्जर बनेको छ । जो खतरनाक सावित हुनसक्छ ।’
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुक पौने एक खर्ब घाटामा पुगेको बताए । सरकारको असक्षमताका कारण इतिहासकै डरलाग्दो व्यापार घाटा मुलुकले बेहोरिरहेको भन्दै ‘एमालेले सरकारको नेतृत्व गर्दा ६०÷७० करोड व्यापार घाटा बेहारिरहेको मुलुकलाई गठबन्धको सरकारले पौने एक खर्बको घाटामा पुर्याएको छ । यो क्रम बढ्दै गइरहेको महासचिव पोखरेलले बताए ‘हामीले सरकारको नेतृत्व गर्दा मूल्यबृद्धि ३।५ प्रतिशत रहेकोमा अहिले ८।५ प्रतिशत मूल्यबृद्धि भइरहेको छ ।’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले बैध अर्थतन्त्र समाप्त पारी अवैध अर्थतन्त्र भित्र्याउन तल्लिन रहेको बताए
महासचिव पोखरेलले विचार विना पार्टी चल्न नसक्ने बताए । अध्ययन र प्रशिक्षणले पार्टीलाई जीवन्त बनाउने हुँदा तल्लोदेखि माथिल्लो कमिटिलाई प्रशिक्षित गर्ने एमालेको नीति रहेको बताए । अन्तर्पार्टी बिद्रोहले पार्टी कमजोर बन्दै गएको भन्दै उनले आन्तरिक एकता बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीभित्र संगठनात्मक अराजकता फैलिन नदिन सबै लाग्नुपर्ने उनको भनाइ थियो । जनमत बलियो हुँदाहुँदा आन्तरिक एकता कमजोर हुँदा केही स्थानमा पराजय भोग्नुपरेको तितो यथार्थता नभुल्न महासचिव पोखरेलले नेताहरुलाई निर्देशन समेत दिएका छन ।