निर्वाचन कुर्दै विद्रोही थवाङ

रोल्पा । निर्वाचनमा कहिले सबै भोट कम्युनिस्ट पार्टीलाई दिएर त कहिले मतदान नै नगरेर चर्चामा रहने गरेको रोल्पाको थवाङलाई यसपटक भने बेलैमा निर्वाचन लागेको छ । आसन्न स्थानीय तह निर्वाचनमा ‘कोर’ थवाङमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने देखिएको स्थानीय अजय घर्तीमगर बताउँछन् ।

‘बाहिरका वडा मिरुल र उवामा भने कांग्रेस र एमालेले पनि भोट पाउने देखिन्छ’, उनले भने । थवाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट वर्तमान अध्यक्ष वीरबहादुर घर्तीमगर, ऋषिकेशव बुढा, मौसम रोका, टार्जन पुन, रामधन पुन लगायतको चर्चा छ ।

विप्लवको नेकपाले स्वतन्त्र उम्मेदवारी दिने चर्चासँगै पालिका अध्यक्षमा अमित घर्तीमगर, जयप्रकाश रोका र हितप्रसाद रोकाको नाम आउन थालेको छ । त्यस्तै, कांग्रेसबाट श्रीकुमारी रोका र एमालेबाट यमुना रोका अध्यक्षमा उठ्ने चर्चा छ । यमुना रोका माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेको धेरै भएको छैन । उनलाई एमालेले केन्द्रीय सदस्य बनाएको छ ।

थवाङमा क्रियाशील मुख्य दल माओवादी केन्द्र, विप्लवको नेकपा, नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्वाचन गतिविधि तीव्र बनाउन थालेका छन् । निर्वाचन अभियानका लागि थवाङ आएका नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले शनिबार पार्टी कार्यकर्तालाई चुनाव लक्षित प्रशिक्षण दिए ।

पूर्वसांसद लेखनाथ आचार्य यो पटक बढेको चुनावी रौनकले थवाङको राज्य विरोधी मानसिकता बदलिएको संकेत गरेको बताउँछन् । ‘विद्रोही छवि बनाएको थवाङ यसरी संसदीय निर्वाचनमा आकषिर्त हुनु लोकतन्त्रवादीहरूका लागि खुसीको कुरा हो’, उनले भने ।

नेकपा (माओवादी) फुटेपछि विभाजित अवस्थामा रहेको थवाङमा कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कमजोर मानिन्छ । माओवादी फुटेर प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्दको समूह बन्दा थवाङले प्रचण्ड र विप्लवलाई साथ दिएको थियो ।

थवाङको विगत
थवाङलाई ‘कम्युनिस्ट किल्ला’ मानिन्छ । २०१२ सालमै अखिल नेपाल किसान संगठनको नाममा कम्युनिस्ट पार्टीमा आवद्ध थवाङवासीले २०१५ को पहिलो संसदीय निर्वाचनमा मतदान गरेका थिए ।

त्यो बेला सबै भोट कम्युनिस्ट पार्टीका उम्मेदवार खगुलाल गुरुङले पाएका थिए । २०१८ को गाउँ पंचायत निर्वाचनमा सबै भोट कम्युनिस्ट पार्टीका धर्मबहादुर रोकामगरलाई दिएर प्रधानपञ्चमा जिताएका थिए । २०१९ सालको राष्ट्रिय पंचायत निर्वाचन कम्युनिस्ट पार्टीले बहिष्कार गरेपछि कुनै थवाङवासीले पनि मतदान गरेनन् । २०२४ को गाउँ पंचायत निर्वाचनमा बरमन बुढालाई प्रधानपञ्चको उम्मेदवार बनाएर सबै भोट दिए । त्यसपछि लगातार दुई पटक उनी निर्विरोध प्रधानपञ्च बने ।

२०३७ सालको जनमत संग्रहमा थवाङको सबै मत बहुदलको पक्षमा गएको थियो । २०३८ को राष्ट्रिय पंचायत निर्वाचन बहिष्कार गरेर शून्य मतदान गरेका थवाङवासीले सोही साल सैन्य अपरेशन खेप्नु परेको थियो । २०३९ सालको गाउँ पंचायत निर्वाचनमा भने राज्यको दमनबाट जोगिन बरमन बुढाकी बहिनी तुलकुमारी बुढालाई निर्विरोध प्रधानपञ्च बनाए ।

२०४३ सालको राष्ट्रिय पंचायत निर्वाचनमा सबै मत बमकुमारी बुढालाई दिएर जिताएको थवाङले २०४४ को गाउँ पंचायत निर्वाचनमा कम्युनिस्ट पार्टीकै कमलप्रसाद झाँक्रीलाई उठाएर एकमुष्ट भोट दिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ मा भएको संसदीय निर्वाचनमा थवाङको सबै मत तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महराले पाए । त्यसबेला रोल्पा क्षेत्र नंं १ बाट जनमोर्चाकै बरमन बुढा सांसदमा विजयी भएका थिए ।

२०४९ को स्थानीय निकाय चुनावमा जनमोर्चाकै उम्मेदवार रुजबहादुर रोकामगर नेतृत्वको टिम थवाङमा निर्विरोध भएको थियो । संयुक्त जनमोर्चाले बहिष्कार गरेको २०५१ सालको संसदीय निर्वाचनमा थवाङमा कुल ४ मत खसेको थियो । २०५४ को स्थानीय निर्वाचन पनि थवाङले बहिष्कार गरेपछि गाविस अध्यक्ष र उपाध्यक्ष सदरमुकाम लिवाङमा चयन भएका थिए ।

२०५६ को संसदीय निर्वाचनमा लिवाङबाट हेलिकप्टरमा लगिएका २ जना थवाङवासीले थवाङमा शून्य मतदान हुनबाट जोगाएका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तीन जनाबाहेक सबै थवाङवासीले प्रचण्डलाई मत दिएका थिए । नेकपा (माओवादी) फुटेपछि २०६९ सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि थवाङले शून्य मतदान ग¥यो । त्यसपछि भने थवाङवासी विभाजित भए ।

२०७२ पछिको थवाङ
२०७२ सालमा भएको नेपाल राज्यको पुनर्संरचनामा स्वायत्तताको माग गरिरहेको थवाङलाई ५ वडा रहने गरी गाउँपालिका बनाइयो । रोल्पा जिल्लाको सबभन्दा कम मतदाता रहेको गाउँपालिका हो थवाङ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ ५ हजार ८५३ मतदाता थिए, जसमध्ये ३ हजार ६८२ जनाले मतदान गरे । त्यसमध्ये १ हजार ९९० मत पाएर नेकपा (माओवादी केन्द्र)का वीरबहादुर घर्तीमगर पालिका अध्यक्ष भएका थिए ।

अध्यक्षका स्वतन्त्र उम्मेदवार अमित घर्तीमगरले १ हजार ५७ र एमालेका हितबहादुर रोकामगरले १२० मत प्राप्त गरेका थिए । वडा नं. १ को अध्यक्षमा उठेका स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढामगर ३५९ मत पाएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का ग्रीस पुनले २५६ र एमालेका तिरबहादुर पुनले १३ मत पाएका थिए ।

माओवादी केन्द्रका वसन्त रोकामगर ४१० मतका साथ वडा नं २ को अध्यक्षमा विजयी भएका थिए । त्यस्तै, स्वतन्त्र उम्मेदवार लीलाराम रोकामगरले २९५ र एमालेका जानबहादुर रोकाले ३८ मत पाएका थिए । वडा नं. ३ को अध्यक्षमा माओवादी केन्द्रका भीमबहादुर रोका ७०२ मतका साथ विजयी भएका थिए भने नेपाली कांग्रेसका खरिलाल डाँगीले १६३ मत पाएका थिए । एमालेको उम्मेदवारी नै परेको थिएन ।

त्यस्तै, वडा नं. ४ मा माओवादी केन्द्रकै उदिम घर्तीमगर २८० मत प्राप्त गरी अध्यक्ष बनेका थिए । उनलाई स्वतन्त्र उम्मेदवार हिक्मत घर्तीमगरले १९२ मतका साथ पछ्याएका थिए भने कांग्रेसका उम्मेदवारले ४ र एमालेका उम्मेदवारले शून्य मत पाएका थिए ।

वडा नं. ५ को अध्यक्षमा पनि २८७ मतका साथ माओवादी केन्द्रकै गोवद्र्धन घर्तीमगर विजयी हुँदा कांग्रेसका रमेश रोकामगरले १६१, स्वतन्त्र डुकमन रोकामगरले १०६ र एमालेकी कमला पुनले २१ मत पाएका थिए । अनलाइन खबरबाट

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस